पर्वत : नयाँ वर्षको दिनमा स्नान गर्ने क्रममा मानिसहरू नदीमा बग्न सक्ने जोखिमलाई ध्यानमा राखेर कालीगण्डकी नदीमा सशस्त्र प्रहरी परिचालन भएको छ।
कुश्मा नगरपालिका–५ मोदीवेणी धामस्थित कालीगण्डकी नदीमा स्नान गर्ने क्रममा विगतमा भएका घटनाहरूलाई ध्यानमा राखेर नयाँ वर्षको दिन सोमबार बिहानैदेखि विपद् व्यवस्थापनको तालिम प्राप्त जनशक्तिहरू खटाइएको हो। गत वर्ष नयाँ वर्षकै दिनमा कालीगण्डकी नदीमा स्नान गर्ने क्रममा महाशिला गाउँपालिका घर भएकी ३८ वर्षीया विष्णु पन्तलाई कालीगण्डकीले नदीले बगाएको थियो।
स्नान गर्ने क्रममा ढुङ्गामा चिप्लिएर नदीमा बग्ने तथा सामाजिक सञ्जालमा राख्ने भिडियो खिच्ने क्रममा जोखिम मोल्दा नदीमा बगेर मृत्यु हुन सक्छ। घटना भइहालेमा उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बडागाउँस्थित सशस्त्र प्रहरीको नं. २५ गण हेडक्वार्टर चण्डिका गणका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले बताए। नदी वा बाढीमा उद्धार गर्न विशेष तालिम प्राप्त टोलीहरू कुश्माको मोदीबेणीधाम र बिहादी गाउँपालिकाको सेतीबेनीधाममा खटिएका हुन्।
गणमा विपद् व्यवस्थापनको पाटो हेर्दै आएका इन्स्पेक्टर खड्काकै कमान्डमा सात जनाको टोली सेतीबेनीधाममा र असई शेखर रिमालको कमान्डमा सात जनाको टोली मोदीबेणीधाममा खटिएको छ। नयाँ वर्षमा कालीगण्डकी नदीमा पुगेर स्नान गर्दा जानी नजानी गरिएका पापकर्महरुबाट मुक्ति मिल्ने, सङ्क्रान्ति शरीरको विभिन्न भागमा परेकाहरूले स्नान गर्दा शरीरमा असर नहुने, वर्षको पहिलो दिनमा पुण्यको काम गर्दा वर्ष नै सुखद बन्ने जनविश्वास छ।
यही कारण बिहानैदेखि कालीगण्डकी नदीका तीरहरूमा भक्तजनहरू स्नान तथा भजनकिर्तनका लागि जम्मा भइरहेका छन्। ‘हामीहरू बिहान पाँच बजेबाट नै दुई ओटा तीर्थस्थलहरूमा खटिएका छौँ। सेतीबेनीमा आउने जाने क्रम निकै बाक्लो छ। अहिले पनि १०/१२ हजार भक्तजनहरू यहीँ हुनुहुन्छ’, इन्स्पेक्टर खड्काले भने, ‘विगतमा सेतीबेनी र मोदीबेनी दुवै ठाउँमा मानवीय क्षति भएकाले हामीले अहिले पूर्व सतर्कता अपनाएका छौँ।’
उद्धार टोलीहरू ‘¥याफ्ट बोट’, ‘थ्रो ब्याग’, ‘लाइफ ज्याकेट’, ‘लाइफ बय’, ‘ट्युब’, डोरी तथा प्राथमिक उपचारका सामग्रीहरूसहित तयारी अवस्थामा रहेका छन्। कालीगण्डकी नदीअन्तर्गत पर्वतमा मोदीबेणी, सेतीबेनी, नयाँ पुल लगायतका क्षेत्रहरू स्नानका लागि प्रख्यात छन्।
वैशाख १, २०८३




