बुध, असार २५, २०८२
Wed, July 9, 2025

पहिरोले विद्यालय भवन भत्काएपछि कार्यालय सहयोगीको घरमा पठनपाठन

अशोज १६, २०७८

पर्वत : मोदी गाउँपालिका–६ दोबिल्लास्थित रचना केसीको घरमा कोही विद्यालयको पोसाक लगाएका त कोही बिना पोसाक नै विद्यार्थी जम्मा हुन्छन्। बिहान १० बजे रचनाको घरमा पुग्नेहरू ४ बजेसम्म त्यहीँ पढ्छन्, त्यहीँ खेल्छन्।

कहिले घरको पिँढीमा पढिरहेका हुन्छन् त कहिले घरभित्रको कोठामा। उनीहरू ट्युसन पढ्नका लागि भने त्यहाँ पुगेका होइनन्।

गत भदौ १८ गते दिउँसो करिब ३ बजे आएको पहिरोले स्थानीय हरि प्राथमिक विद्यालयको दुई कोठे भवन भत्काइदियो। दुई वटा कोठालाई बीचबाट बाँडेर तीन कक्षासम्मको अध्यापन, त्यसैमा अफिस र भण्डार कक्ष समेत राखेर काम चलाइएको भवनको पछाडिको भागबाट पहिरो आयो, छाना रुखले थिच्यो।

एउटा मात्रै भवनबाट सञ्चालन हुँदै आएको भवन नै पहिरोमा परेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई सोही विद्यालयकी कार्यालय सहयोगी रचनाको घरमा बोलाएर पठनपाठन गर्दै आइएको विद्यालयकी प्रधानाध्यापक सीता पौडेलले बताइन्। बेला बेलामा भइरहेको वर्षाका कारण खुला चौरमा राखेर पढाउनुभन्दा घरमा नै राखेर कक्षा चलाउन सुरक्षित हुने भएपछि घरमा नै विद्यालय सञ्चालनको विकल्प नरहेको उनको भनाइ छ।

‘भवन भत्क्यो भनेर नपढाइ बसेर त भएन, हामीसँग केही विकल्प नै नभएपछि विद्यालयकै कर्मचारीको घरमा विद्यार्थी बोलाएर पढाइरहेका छौँ। यहीँको गुन्द्रीमा बसेर पढिरहेका छन्‚’ पौडेलले भनिन्, ‘विद्यालयमा भवन एउटा मात्र थियो त्यसमा पनि दुई कोठा मात्रै। दुई कोठालाई पार्टेसन गरेर चार वटा बनाएका थियौँ। बाल कक्षा र अफिस एकै ठाउँमा थिए। भवन हुँदा पनि दुःख अहिले पनि उस्तै।’

घरमा विद्यार्थीहरूलाई बस्नका लागि डेस्क, बेन्च, लेख्नका लागि कालोपाटी‚ ह्वाइट बोर्ड, शैक्षिक सामग्री लगायतका वस्तु नहुने भएका कारण प्रभावकारी शिक्षण गर्न समस्या भइरहेको उनको भनाइ छ। कक्षा ३ सम्मको कक्षा सञ्चालन गर्दै आएको विद्यालयमा १४ जना विद्यार्थी छन्। विद्यालयमा प्रअ पौडेल दरबन्दीकी स्थायी शिक्षक हुन्। उनीबाहेक एकजना बाल कक्षामा अध्यापन गर्ने र एक जना कार्यालय सहयोगी विद्यालयमा कार्यरत छन्।

विद्यालयको भवन भत्केर घरबाटै कक्षा चलाउनु परेको अवस्थाबारे आफूहरू जानकार रहेको र तत्कालका लागि त्यही विकल्प नै उत्तम भएको मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछाने बताउँछन्। बेला बेलामा भइरहेको वर्षाका कारण तत्कालै केही गर्न सक्ने अवस्था नभएको, प्राथमिक तह र विद्यार्थी संख्या पनि कम भएको विद्यालय भएका कारण अहिले घरबाट नै चलाइएका कक्षा सुरक्षित भएको उनको भनाइ छ। उनले अब वर्षा रोकिएपछि भवनको विकल्पबारे गाउँ कार्यपालिकाले केही निर्णय गर्ने बताए।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive