संजय रेग्मी
असोज १७, २०७८
पर्वत : जिल्ला जनगणना कार्यालय पर्वतले जनगणनाको पहिलो चरण अन्तर्गत घर परिवार सूचीकरणका लागि कर्मचारीहरु आए नआएको एकीन गर्न नागरिकलाई अनुरोध गरेको छ ।
‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा सहित भइरहेको जनगणना अन्तर्गत पहिलो चरणको घर तथा परिवार सूचीकरणको काम केही ठाउँहरुमा सकिएकाले ती ठाउँमा सूचीकरण हुन छुटेको भएमा खबर गर्नका लागि कार्यालय आम नागरिकलाई अनुरोध गरेको छ।
जिल्ला जनगणना अधिकृत ज्योती के.सी. का अनुसार हालसम्म मोदी गाउँपालिकाका वडा नं. ६ बाहेकका सबै वडामा, जलजला गाउँपालिकाको वडा नं. ८ बाहेकका सबै वडामा, कुश्मा नगरपालिकाको वडा नं. ६, ८, १३ र १४ बाहेकका सबै वडामा, फलेवास नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६ र ८ बाहेकका सबै वडामा, महाशिला गाउँपालिकाको वडा नं. ५ बाहेकका सबै वडामा, बिहादी गाउँपालिकाको वडा नं. ६ बाहेकका सबै वडामा पहिलो चरणको काम सकिएको छ। सूचीकरणको काम सकिएका ती ठाउँका नागरिकले आफ्नो घर तथा परिवार सूचीकरण भए नभएको वा सूचीकरण गर्ने कर्मचारी आए नआएको यकिन गरी सूचीकरण नभएको भएमा जिल्ला जनगणना कार्यालयको फोन ९८४१७८०८०४ वा ९८४७७५७६२९ मा फोन गरेर जानकारी दिन भनिएको छ।
सूचीकरण भएका घर तथा परिवारमा मात्र गणकहरु पुगेर वास्तविक गणना तथा तथ्याङ्क संकलन गर्ने भएका कारण जनगण्नाबाट बञ्चित नहुनका लागि सूचीकरण भए वा नभएको बारेमा यकिन गर्नैपर्ने जनगणना कार्यालयले जानकारी दिएको छ।