काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा आजै नयाँ मन्त्रीहरुको नियुक्ति हुने भएको छ । दिउँसोसम्म मन्त्रीहरुको टुंगो लगाएर अपरान्ह ४ बजे सपथको तयारी भइसकेको छ ।
माओवादीले थप ३ मन्त्री र १ राज्यमन्त्री पठाउने भएको छ । माओवादीबाट सरकारमा जानेको नाम टुंगो लागिसकेको छ । देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर जंग गहतराज मन्त्री र वोधमाया कुमारी यादव राज्यमन्त्री बन्नेछिन् ।
नेकपा एसबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ र प्रेम आलेको नाम टुंगो लागिसकेको बुझिएको छ । बाँकी एकजनामा टुंगो लाग्न बाँकी रहेको बुझिएको छ ।
नेपाली काँग्रेसबाट ३ मन्त्री र १ राज्यमन्त्री छन् । उमेश श्रेष्ठलाई अन्यत्र सारेर बाँकी मन्त्रालयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट २ र कृष्णप्रसाद सिटौला पक्षबाट १ मन्त्री बन्ने भएका छन् । पौडेल पक्षबाट सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी र दिलेन्द्र बडुमध्येबाट मन्त्री बन्नेछन् । सिटौला पक्षबाट उमाकान्त चौधरी मन्त्री बन्ने टुंगो लागिसकेको छ ।