मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

वर्षाले फर्किन पाएनन् दशैँमा भित्रिएकाहरू

पर्वत : दशैँ मान्न गाउँ फर्किएका तथा आफन्तकोमा पुगेका व्यक्तिले ग्रामीण सडकका कारण सास्ती भोग्नुपरेको छ।

विभिन्न कारणले टीका थाप्न जान नपाएकाहरू तथा टीका थापेकाहरूले गन्तव्यमा फर्किन दशैँको अन्तिम दिन मानिने कोजाग्रत पूर्णिमासम्मको समय राखेका हुन्छन्।

खुलेको मौसममा दशैँ मनाइरहेकाहरूलाई आइतबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण समस्या भएको छ। कालोपत्रे सडकको सुविधा भएको ठाउँमा वर्षाकै बीचमा पनि सवारी फाट्टफुट्ट चले पनि ग्रामीण क्षेत्रमा आउजाउ गर्ने गाडी सञ्चालनमा समस्या हुँदा गन्तव्यमा फर्किनेलाई सास्ती भएको हो।

पर्वतमा रहेको बन्जी जम्प अवलोकनका लागि हेटौँडाबाट आएका आफ्ना साथीहरू वर्षाकै कारण आइतबार दिनभर पर्वत सदरमुकाम कुश्मा बजारमै रोकिएको स्थानीय सुशीला खत्रीले बताइन्।

योपटकको वर्षाले पर्वतको कुश्मा नगरपालिका–८ चुवादेखि मोदी गाउँपालिका–५ बाजुङको पातिचौरसम्मको सडकखण्ड क्षतविक्षत पारेको देखेका उनीहरू जोखिम मोलेर सडकमा यात्रा गर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ।

‘मध्य पहाडी पर्वत खण्ड बिग्रिएको एक हप्तासम्म बन्द भएको थाहा पाएका साथीहरू आजै फर्किने भने पनि सकेनन्। पहिरोको डरले उनीहरू वर्षा रोकिएपछि फर्किने तयारीमा छन्’‚ सुशीला भन्छिन्, ‘पूर्णिमाको भोलिपल्टबाट त सबै जागिर खुल्छन्, काम भेट्टाउन पुग्नैपर्नेहरूलाई वर्षाले समस्या भयो। हिँड्नै डर छ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमनारायण श्रेष्ठले दशैँलगत्तै गाडीको चाप बढ्न थाले पनि आइतबारदेखिको वर्षाका कारण सञ्चालनमा आएकामध्ये २५ प्रतिशत जति सवारी गन्तव्यका लागि नछुटेको बताए।

यो वर्षको भीषण वर्षाका कारण ठाउँ ठाउँमा गएका पहिरो नियालिरहेकाहरूले जोखिम मोलेर यातायात सञ्चालन नगरेको उनको भनाइ छ।

‘दशैँमा गाउँ आएकाहरूलाई फर्किएर गन्तव्यमा जानका लागि समस्या भएको छ। दशैँका वेला सञ्चालनमा आएकामध्ये करिब २५ प्रतिशत गाडी वर्षाका कारण सञ्चालनमा आएका छैनन्’‚ उनले भने, ‘कालोपत्रे भएको सडकमा सवारी चल्न सके पनि ग्रामीण क्षेत्रमा आउजाउ गर्ने सवारी फाट्टफुट्ट चलेका छन्। गाउँमा सडकमा यो हालतमा बस जान मुस्किल छ‚ अलिअलि जिप आउजाउ गरेका छन्।’

पर्वतका अधिकांश ग्रामीण क्षेत्रमा कच्ची सडक छन्। अलिकति वर्षा हुनासाथ पनि सडक चिप्लिने, पहिरो झर्ने, भेलको कटानले बाटोको स्वरूपै नरहने लगायतका समस्या देखा पर्दै आएका छन्।

सुक्खा समयमा जिल्लाका सबै ग्रामीण क्षेत्रमा सवारी चल्न सक्ने भए पनि वर्षा हुँदा साथ आउने समस्याका कारण आम नागरिकले दुःख पाउँदै आएका छन्।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive