कात्तिक ४, २०७८
पर्वत : सुधारिएको मौसमकाबीच एकाएक भएको अविरल भारी वर्षाका कारण पर्वतमा लगाइएकोमध्ये करिब २५ प्रतिशत धान खेतीमा क्षति भएको अनुमान गरिएको छ।
कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी प्रमुख मनिता थापाका अनुसार सबै स्थानीय तहहरुबाट आएको विवरणहरू अनुसार यो तथ्यांक निकालिएको हो । कतिपय पालिकामा २५ प्रतिशतसम्म क्षति भएको सूचना आएकाले कम र बढी क्षतिबिचको औसतमा २२ प्रतिशत क्षति भएको देखिएको हो ।
जिल्लामा कुल आठ हजार नौ सय १० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा एक सय ७८ हेक्टर क्षेत्रफलमा रहेको धान भने भित्राइसकिएको तथ्याङ्क छ। झरी, वर्षा र हावाहुरीका कारण चार सय ९० हेक्टर क्षेत्रफलमा लगाइएको धान पूर्ण नोक्सान भएको भएको छ भने छ हजार सात सय ७२ हेक्टर क्षेत्रफलमा रहेको धान खेती ठाडो अवस्थामा रहेको छ ।
कार्यालय प्रमुख थापाका अनुसार देशभरिको उत्पादनलाई हेर्दा प्रति हेक्टरमा तीन मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ भने पर्वतमा त्यो भन्दा धेरै तीन दशमलव पाँच मेट्रिक रहेको छ। यो अनुसार जिल्लामा वर्षमा करिब २८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ। यो तथ्याङ्कलाई अहिलेको २२ प्रतिशत क्षतिसँग दाँजेर करिब छ हजार एक सय भन्दा बढी मेट्रिक टन धानमा वर्षाले प्रत्यक्ष असर गरेको छ। त्यसमा पनि यसको २५ प्रतिशत अर्थात् करिब १५ सय मेट्रिक टन धान काम नै नलाग्ने गरी नष्ट भएको छ।
क्षतिग्रस्त अवस्थामा रहेको २२ प्रतिशतमध्येको करिब ७५ प्रतिशत धानलाई उठाएर ठाडो पार्ने, एक ठाउँबाट अन्यत्रै सुख्खा ठाउँमा सार्ने, खेतको भल तर्काउने, तप्क्यानी हटाउने लगायतका काम गर्ने हो भने केही मात्रामा उत्पादन लिन सकिने थापाको भनाई छ। ‘क्षति भएर काम नलाग्ने भएको त भइहाल्यो, तर डुबेको धानलाई खेतमा जमेको पानीबाट निकालेर सुख्खा स्थानमा राख्ने, धान उम्रिन सक्ने जोखिम भएकोले धेरै तातो वा चिसोमा नराख्ने, बेला बेलामा धानलाई चलाइरहने, नकाटेको तर ढलेर डुबेको भए खेतबाट पानी तर्काउने, मौसम सफा नहुँदासम्म धान नकाट्ने उपाय गरेर पानीमा परेको धानलाई केही हदसम्म जोगाउन सकिन्छ’ उनले भनिन्, ‘यदि ढलेर उठाउन सकिएन भने त्यस्तो धानको दाना पोटिलो नहुने भएकोले सम्भव भएसम्म ढलेको धानलाई उठाएर क्षति कम गर्ने प्रयास गर्नुपर्छ।’
जिल्लाका सात वटै पालिकामा रहेको धान खेतीमा क्षति पुगेको भए पनि सबैभन्दा बढी फलेवास र कुश्मा नगरपालिकामा भएको छ। महाशिला गाउँपालिकाको भने क्षेत्रफल नै कम भएकाले क्षतिको अवस्था पनि थोरै नै देखिएको छ। पर्वतका धेरै कृषकहरूको मुख्य बाली धान भए पनि रोपेको धानले तीनदेखि छ महिनासम्म पनि धान्न नसक्नेहरूको परिवार धेरै रहेकाले स्थानीय तह वा प्रदेश र सङ्घीय सरकारले नै कृषकहरूलाई सजिलो हुने खालका योजनाहरू ल्याउनुपर्ने पीडित कृषकहरू बताउँछन्।
‘धान लगाए पनि यहाँका धेरैले बोरा बेसाएरै खाइरहेको अवस्था छ। घरमा भएको चामलले तीन महिना पनि नधान्ने अवस्थामा रहेका परिवारले अब वर्ष दिनसम्म कसरी भोक मेटाउलान्? उनीहरू त भोकभोकै मर्ने अवस्था आएको छ’ फलेवास नगरपालिका–४ मुडिकुवाका कृषक कृष्ण सापकोटा भन्छन्, ‘जुन सरकारले हुन्छ उही सरकारले कृषकलाई सजिलो हुने योजना वा राहत दिनुपर्छ। यहाँको अवस्थाका बारेमा स्थानीय सरकारलाई धेरै थाहा हुने भएकोले स्थानीयले माथिल्ला सरकारलाई बजेटको लागि पहल गर्नुपर्छ।’
thahakhabar.com