बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

‘द हार्नेस’ पर्वतमा विश्वकै अग्लो ५२ फिटे ‘हाईड्रोलिक स्विङ’

कात्तिक ११, २०७८
पर्वत : साहसिक खेलका माध्यमबाट पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको पर्वतमा साहसिक पर्यटनमा रमाउनेहरूको लागि फेरि अर्को साहसिक खेल पनि थप भएको छ।
विश्वकै दोस्रो अग्लो बन्जी जम्प र सुपर म्यान शैलीको विश्वकै दोस्रो लामो जीपलाईन रहेको पर्वतमा अर्को साहसिक खेलका रूपमा विश्वकै सबैभन्दा अग्लो ‘हाइड्रोलिक स्विङ’ सञ्चालनमा ल्याउन लागिएको हो। कालीगण्डकी नदीमा रहेको बन्जी जम्प र जीपलाईनको बिचमा पर्ने गरी १४ सय ८० मिटर लम्बाइको सुपर म्यान जीपलाईन सञ्चालन गर्न लागेको ‘द हार्नेस प्रा.लि’ ले ८० लाखको लगानीमा पिङ निर्माण कार्य अन्तिम चरणमा लगेको कम्पनीका कार्यकारी निर्देशक सुनिल सिंह बानियाले बताए। जसमा जमिनलाई बलियो पार्ने फाउन्डेसनको लागि मात्र ५० लाख खर्च गरिएको छ।
‘हामीले १५ करोडको लगानीमा जीपलाईन निर्माण गरिरहेका छौँ। यसैको साथमा फेरि ८० लाखको लगानीमा हाइड्रोलिक स्विङ निर्माण भइरहेको छ। यसले पनि पर्वतको पर्यटनमा फेरि नयाँ आयाम थप्ला भन्ने लागेको छ,’ उनले भने, ‘अब पर्वत साहसिक खेलको जिल्लाको रूपमा चिनिएको छ। यस्ता खेलमा रमाउनेहरूको लागि जुन खेल चाहेको हो त्यही पाउने अवस्था बनेको छ।’ उनका अनुसार यस्तै खालका पिङ यस अगाडि युनाइटेड स्टेट, चाइना र साउथ अफ्रिकामा बनेका भए पनि पर्वतमा सञ्चालनमा आउने लागेको पिङ भने विश्वकै सबैभन्दा अग्लो ५२ फिट उचाइको हुनेछ। नेपालमा अहिलेसम्म सञ्चालनमा रहेका पिङहरूलाई हातले घच्याउने वा घिर्नी र डोरीको प्रयोग गरेर तानेर छाड्ने खालको रहेकोमा हाइड्रोलिक पिङमा भने डोरी र घिर्नी नभई विद्युतीय मसिनको प्रयोग गर्न लागिएको छ।
मसिनको निश्चित गतिमा चल्ने भएकाले अरू डोरीको पिङजस्तो सुरुमा चर्को र बिस्तारै गति कम हुँदै जाने अवस्था हाइड्रोलिक पिङमा नहुने भएकाले निश्चित समयमा निश्चित पटक मात्रै मच्चिने र हरेक पटक पार गर्ने दूरी पनि बराबर नै हुने ‘द हार्नेस प्रा.लि’ का अध्यक्ष विदुर पौड्यालले बताए। ‘यो सेल्फ अर अटो अपरेटेड स्विङ हो, अरूमा जस्तो गति तलमाथि हुने अवस्था यसमा रहँदैन। एक मिनेटमा १२ पटक मच्चिने यो पिङ ९० डिग्री कोणसम्मको अवस्थामा सिधा हुन्छ,’ पौडेलले भने, ‘यो पिङमा चिनिया प्रविधि र सामग्रीहरूको प्रयोग गरिएको छ। नेपालमा हालसम्म यस्तो खालको पिङ नबनेका कारण पनि धेरै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यसले लोभ्याउने आसा गरेका छौँ।’ निर्माण कम्पनीका अनुसार पिङमा एकै पटकमा चार जनासम्म बसेर खेल्न मिल्ने छ। पिङ मच्चिएको अवस्थामा कालीगण्डकी किनारमा रहेको डरलाग्दो भिरमाथिको भागमा सिधा भएर बसेको हुनेछ।
पिङ निर्माणको काम अन्तिम चरणमा आउन लागेको र जीपलाईनको परीक्षणहरू समेत सफल भएका कारण केही दिन भित्रमा नै दुवै साहसिक खेलको औपचारिक तथा व्यावसायिक सुरुवात गर्ने तयारीमा कम्पनी रहेको छ। सके बुधवार नभए बिहीबार साँझसम्ममा पिङको परीक्षण गर्ने तयारी छ।
पर्वत जिल्लामा बन्दै गएका साहसिक खेलहरूले जिल्लामा पर्यटकहरूको आकर्षण बढिरहेको बेलामा केही दिनमा नै सञ्चालनमा आउन लागेको जीपलाईन र हाइड्रोलिक पिङले झनै आकर्षण थपेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी बताउँछन्। कुनै बेलामा बाटो हिँड्न समेत डर लाग्ने र जति बेलै बाँदरको मात्र बथान देखिने कालीगण्डकी नदीको भीरमा बनेका साहसिक खेल तथा पर्यटकीय गन्तव्यले जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय विकासमा महत्त्वपूर्ण टेवा पुग्ने उनको भनाई छ। ‘जीपलाईन, बन्जी, पिङ अन्यत्र पनि नभएका त कहाँ हुन र? तर यहाँका खेलमा विशेषता छन्, विश्वमै रेकर्ड राख्ने खालका छन् जसले विश्वको ध्यान नेपालमा र त्यसमा पनि पर्वतमा आएको छ,’ नगरप्रमुख जोशीले भने, ‘स्थानीय तहले नै लगानी गरेर बनाउन यति ठुलो लगानी हामीसँग हुँदैन। तर निजी क्षेत्रले निर्माण गरेर भए पनि त यस क्षेत्रको लागि योगदान गर्नुभएको छ। यस्तै खालका अन्य पर्यटकीय सम्भावना खोजी गरी लगानी गर्ने वातावरण तयार गर्नु हाम्रो आवश्यकता हो।’

Source: thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive