बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

मधुमेह दिवसमा निःशुल्क परीक्षण

पर्वत : विश्व मधुमेह दिवसको अवसर पारेर पर्वतमा एक सय सेवाग्राहीको निःशुल्क मधुमेह परीक्षण गरिएको छ।

‘मधुमेहको हेरचाह र उपचारमा पहुँच : अब पनि नभए कहिले’ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय पर्वत, पर्वत अस्पताल र कुश्मा नगरपालिकाले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका थिए।

सोही अवसरमा मधुमेहबारे चेतना फैलाउन र समयमै परीक्षण गरी स्वास्थ्य अवस्थालाई गम्भीर बन्न नदिने सन्देश फैलाउन निःशुल्क परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले बताए।

‘मधुमेहका कारण स्वास्थ्यमा आउने समस्याबारे हामी सबै जानकार छौँ। समयमै परीक्षण गरी खानपानको व्यवस्थापन मिलाउन सके हाम्रो स्वास्थ्य बचाउन सकिन्छ’‚ उनले भने, ‘सामान्य वा गम्भीर खालका सबै खाले रोगले स्वास्थ्य बिगारिरहेका हुन्छन् भन्ने सन्देश फैलाउन र परीक्षणका लागि अस्पतालमा आउनुपर्छ भन्ने मानसिकता विकास गर्न निःशुल्क रूपमा सयजनाको परीक्षण गरेका हौँ।’

स्वास्थ्य परीक्षणका लागि आएका ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिक र ४० वर्षमाथिका जोखिम समूहमा रहेका सेवाग्राहीको निःशुल्क परीक्षण गरिएको हो।

त्यस अवसरमा उच्च रक्तचाप तथा मुटुको जोखिम पहिचान समेत गरिएको थियो। परीक्षण गरिएका सयजना सेवाग्राहीमध्ये २५ जना पत्रकार रहेका छन्।

मधुमेह नियन्त्रणका लागि व्यक्ति र समुदायको महत्त्वपूर्ण भूमिका हुने भएकाले पहिले व्यक्ति स्वस्थ बन्दै समुदायलाई नै स्वस्थ राख्ने अभियानमा लाग्नुपर्ने उनको सुझाव छ। मधुमेहबाट प्रभावित भएकाहरूले त्यसको लक्षण, असर र न्यूनीकरणको बारेमा थाहा पाएका कुरा अरूलाई बताउन सक्नुपर्ने र परीक्षणको लागि समयमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सुझाव कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।

स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले जनस्वास्थ्य जटिलताको जानकारी हुनु वा जनचेतना फैलाउनु मात्र पर्याप्त नभएकाले यसको समाधानका लागि नतिजामुखी कार्यक्रममा जोड दिनुपर्ने बताए।

समुदाय स्तरबाट मधुमेह नियन्त्रणका लागि स्थानीय सरकार र स्वास्थ्य संस्थाको संयुक्त प्रयासमा स्वास्थ्य संस्थाबाट नियमित मासिक खोज पडताल शिविर सञ्चालन गर्न आवश्यक रहेको र त्यसका लागि छलफल अन्तिम चरणमा रहेको उनको भनाइ छ।

मधुमेहबारे चेतना फैलाउने र सबै मधुमेहका बिरामीलाई उपचार र हेरचाह सेवाको पहुँचमा ल्याउने प्रमुख उद्देश्यका साथ यो दिवस प्रत्येक वर्ष नोभेम्बर १४ का दिनमा मनाउने गरिन्छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive