शुक्रबार, माघ ४, २०८१
Friday, January 17, 2025

ए डिभिजन लिग फुटबल आजदेखि उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोवाटो खेल्दै

शहीद स्मारक ए डिभिजन लिग फुटबल आजदेखि शुरुहुँदै छ । उद्घाटन खेलमा सातदोवाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै छ । सातदोवाटो यसै सिजन ए डिभिजन लिगमा उक्लिएको टिम हो भने फ्रेण्ड्सले पहिला पनि लिग खेल्दै आएको छ । अपरान्ह पौने ५ बजे शुरुहुने लिग पहिलो पटक फ्लर्ड लाइटमा खेलाइने छ ।

लिगका लागि अखिल नेपाल फुटबल संघ एन्फाले सबै तयारी पूरा गरेको छ । १४ टिम सहभागी यो लिगमा सबैले एक अर्कासँग खेल्ने छन् । १३ चरणका ९१ खेलबाट लिगको विजेता टुंगो लाग्ने छ ।

प्रि म्याच कन्फ्रेन्समा बिहीवार हिमालयन शेर्पाबाहेक १३ क्लबको सहभागिता रहेको थियो । जसमा सबै क्लबले लिगका लागि आफ्नो तयारी पूरा भएको जनाएका छन् ।

अघिल्लो सिजन उपाधि जितेको मच्छिन्द्रलाई लिग रक्षा गर्ने चुनौती रहेको छ भने अन्य क्लबहरु पनि उत्कृष्ट रहेकाले सबैको सम्भावना उत्तिकै रहेको छ । लिगका चर्चित क्लबहरु मनाङ, थ्रीस्टार, नेपाल पुलिस र त्रिभुवन आर्मीले लिग जित्ने लक्ष्य लिएको बताउँदा अन्य क्लबहरुले तालिकाको मध्यभागमा रहने उल्लेख गरेका थिए ।

शुक्रबार खेल्ने क्लब फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले ४० दिनको अभ्यास गरेर टिम ए डिभिजनका लागि तयार रहेको बताए । उनले भने ‘हाम्रो पहिलो उदेश्य भनेको सुरक्षित हुने, रेलिगेसनबाट बच्ने अनि त्यपछि छैठौ सातांैसम्म आउने रहेको छ ।’

उता यसै सिजन ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लबले पनि राम्रो नतिजा अपेक्षा गरेको प्रशिक्षक मेघराज केसीले बताए । लामो समय थ्रीस्टार क्लबमा रहेका केसी पहिलो पटक लिग खेल्न लागेको क्लबमा आवद्ध भए पनि यसबाट आफूलाई प्रेसर नभएको उल्लेख गरे ।

उनले भने ‘पहिलो पटक लिग खेल्दैछौ र टिमलाई यसको खासै ज्ञान पनि छैन । हामी लिगलाई अरुजस्तो लिदैनौ । हामीले मेहनत गरेका छौ अनुभवलाई प्रयोग गरेर राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौ । सुरुवाती खेल सिक्ने मौका हुनेछ ।’

सबै टिम आफूहरुका लागि समान रहेको बताउँदै कसैलाई कमजोर र कसैलाई बलियो नआँक्ने पनि उल्लेख गरे । लिग विजेताले ७५ लाख पुरस्कार पाउने छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive