आइतवार, चैत्र २, २०८१
Sunday, March 16, 2025

पर्वत कारागारका कैदीलाई पुस्तकालयको व्यवस्था गरिने

पर्वत : जिल्ला कारागार पर्वतमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीहरूको लागि पुस्तकालयको निर्माण गरिने भएको छ।

विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले अध्ययनबाट उनीहरूको सोचाइ र व्यवहारमा परिवर्तन ल्याउन सजिलो हुने भन्दै पुस्तकालयको स्थापना गर्न लागिएको हो।

अध्यक्ष अर्जुन पौडेल ‘निर्जन’ ले बन्दी जीवन बिताइरहेकाहरूलाई आफू बन्दी हुँ भन्ने भावना त्यागेर केही कुरा अध्ययन गरी निस्कने बेलामा अध्ययनशील, सकारात्मक सोच भएको र सामाजिक रूपमा हुने घुलमिलका लागि सहज भन्ने उद्देश्य राखेर कारागारमा पुस्तकालय राख्ने योजना बनाएको बताए।

‘कैद भुक्तान भएकाहरूलाई आफूहरू कैदी भएको, कुनै अपराधमा संलग्न भएको लगायतका कुराको सोचाइका कारण मानसिक चिन्ता बढ्ने हुन सक्छ। भित्र यत्तिकै बसिरहन भन्दा केही न केही अध्ययन गरेमा ज्ञान बढ्छ, ज्ञानले मानिसलाई सकारात्मक सोच भएको बनाइदिन्छ,’ उनले भने, ‘जेल जीवनबाटै कोही साहित्यकार बनेका छन्, कोही नेता बनेका छन्। त्यहाँ भित्र रहँदा समय जति पनि हुने भएकाले हरेक विषयमा गहनताका साथ अध्ययन गर्ने हो भने सिकाई राम्रो हुन्छ।’

पुस्तकालय निर्माणको लागि अहिले विभिन्न व्यक्ति तथा संस्थाहरूलाई पुस्तक उपलब्ध गराइदिन अनुरोध गरिरहेको र सङ्कलनको काम करिब अन्तिम चरणमा पुगेकाले केही दिनमा नै पुस्तकालय राख्ने तयारीमा आफूहरू रहेको पनि अध्यक्ष पौडेलको भनाइ छ।

पुस्तकालयमा धर्म, नैतिकता, आचरण, राजनीति, आर्थिक उपलब्धि, साहित्य, जीवन सङ्घर्ष लगायतसँग सम्बन्धित करिब चार सय पुस्तकहरू राख्ने योजना गरिएको छ।

त्यसका लागि पर्वत जिल्ला छिमेकी र अन्य जिल्लामा पनि पुस्तक वा आर्थिक सहायताका लागि अनुरोध गरिएको छ। पुस्तक किन्नका लागि विभिन्न व्यक्तिले गरेको सहयोगबाट १७ हजार रुपैयाँ सङ्कलन भएको छ। सहयोगका रूपमा आएका पुस्तकमा सबै विधा नसमेटिएमा आर्थिक सहयोगका रूपमा आएको रकमले राख्नै पर्ने खालका तर छुटेका पुस्तक किनेर पुस्तकालयमा राख्ने योजनामा लायन्स क्लब छ।

अध्ययनको समयमा आफूहरू कैदी बन्दी हुँ भन्ने सोच आउन नदिनको लागि व्यवस्थित बसाइ र अध्ययनको लागि डेस्क बेन्चसहितका फर्निचर र पुस्तकहरू राख्नको लागि उपयुक्त हुने खालका फर्निचरको व्यवस्थापन गर्न लागिएको क्लबका अध्यक्ष पौडेल बताउँछन्।

आफू आबद्ध रहेको लायन्स क्लबले साना तर धेरै काम गर्नुभन्दा थोरै तर दीर्घकालीन काम गर्दै आएको जानकारी दिँदै उनले पर्वतमा नै पहिलो पटक ट्राफिक प्रहरीको डमी राख्ने काम पनि आफूहरूले नै गरेको उल्लेख गरे।

लायन्स क्लबले स्थापना गर्ने पुस्तकालयले कारागारमा बन्दी जीवन बिताइरहेकाहरूको मनोभावनामा सकारात्मक सोचको विकास गर्नको लागि महत्त्वपूर्ण सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी बताउँछन्।

कुनै आवेग वा विशेष परिस्थितिमा रहेका बेलामा मान्छेले अपराध गर्ने भए पनि सधैँभर उसको मानसिकता आपराधिक खालको नहुने भएकाले पुस्तकको अध्ययनले सोच र व्यवहार परिवर्तनमा सहयोगी भूमिका निर्माण गर्न सक्ने उनको भनाइ छ।

‘कुनै कसुर गरेको व्यक्तिको मनमा सधैँभर कसुर नै गरिरहुँ भन्ने भावना रहँदैन। तर, पनि एक पटकको कसुरकै कारण बन्दी जीवन बिताइरहेकाहरूलाई खाली समयको अध्ययनले धेरै फाइदा गर्छ,’ डिएसपी बुढाथोकी भन्छन्, ‘अध्ययनले मानिसमा सकारात्मक सोचको विकास गराउँछ, सामाजिक व्यवहारलाई कुशल बनाउँछ, मिहिनेती र नैतिकवान् बनाउने पनि अध्ययन नै हो।’

लायन्स क्लबले पुस्तकालय निर्माणको लागि कारागारलाई छनोट गर्नु सबैको लागि खुसीको कुरा भएको उनले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive