मङ्सिर २१, २०७८
पर्वत : निर्माण प्रारम्भ गरेको एक वर्षमा निर्माणको काम पूरा गरेर पर्वतको फलेवास नगरपालिका–९ भंगराको वडा कार्यालयको उद्घाटन गरिएको छ ।
वडाको केन्द्र काउलेमा नवनिर्मित वडा कार्यालय भवनको मंगलवार फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले उद्घाटन गरेका छन् । २०७७ पौषबाट सुरु गरिएको भवन निर्माण कार्य हालै सम्पन्न भएको थियो । भवनमा सभाहल सहित ४ वटा कोठा रहेका छन् । प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा एक करोड पाँच लाखमा भवन निर्माण भएपछि कार्यालयका सेवा प्रवाहमा सहज हुने भएको छ ।
वडा कार्यालय भवन निर्माणका लागि स्थानीय मन बहादुर पौडेल क्षेत्रीले निशुल्क दुई रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो भने थप १ रोपनी जग्गा पास हुन बाँकी रहेको छ । भावनको उद्घाटनको अवसरमा बोल्दै नगरप्रमुख शर्माले खुल्ला आकाशमुनि रहेको नगरपालिकालाई आफु निर्वाचित भएपछि पूर्वाधार सम्पन्न बनाउने प्रयासमा लागेको बताए । सुविधासम्पन्न कार्यालय नभएसम्म नागरिकहरुलाई सेवा प्रवाहमा असहज हुने भन्दै आफ्नो कार्यकालमा नगरले पूर्वाधारमा ठुलो फड्को मारेको विश्वास व्यक्त गरे । संघीयताको असल अभ्यासका लागि पनि पूर्वाधारमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले नगरको विकासका लागि गुरुयोजनाका साथ अघि बढेको पनि बताए ।
कार्यक्रममा तमुधि नेपालका राष्ट्रिय अध्यक्ष होमबहादुर गुरुङ, एमाले नगर कमिटि अध्यक्ष देवीप्रसाद तिमिसिना, वडा अध्यक्ष मनबहादुर कुँवर, एमाले नगर कमिटि सचिब मुक्तबहादुर क्षेत्री, नेपाली काँग्रेसका विष्णु सुवेदी, माओवादी केन्द्रका नगेन्द्र गौतम, सम्पर्क मन्चका नविन क्षेत्री, गणेश क्षेत्री, प्रेस चौतारीका अध्यक्ष गणेश गिरी लगायतले पनि भनाई राखेबका थिए । वडाध्यक्ष गंगाधार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत होमबहादुर पौडेल र सञ्चालन वडा सचिब कुलप्रसाद भुसालले गरेका थिए ।