सरिता पौडेल
मङ्सिर २५, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङमा स्थापना भएको पाङ युवा क्लबको आयोजनामा एसियाकै लामो दावी गरिएको पर्वतको पाङ र बागलुङ को अदुवाबारी जोड्ने झोलुङ्गे पुलमा सरसफाई गरिएको छ ।
“स्वस्थ र हराभरा पाङ, हाम्रो अभियान” भन्ने मूल नाराका साथ शनिवार विहान पुलको आसपासमा रहेको क्षेत्रमा रहेका फोहोर संकलन गरेर व्यवस्थापन गरिएको क्लबका अध्यक्ष जयराम सुवेदीले जानकारी दिए । सोही अवसरमा फोहोरको दीर्घकालिन व्यवस्थापनको लागि पुलको मुखमा दुई वटा डस्टविन पनि राखिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्दै गएको पुलको आसपासको क्षेत्रमा फोहोर व्यवस्थापन नहुँदा त्यसले पर्यटकहरुलाई दिक्क बनाउने भएकाले क्लबको सक्रियतामा सरसफाई गरिएको सुवेदीको भनाई छ ।
२०७६ सालमा स्थापित क्लबले समाजसेवासँग सम्बन्ध राख्ने विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । फोहोर व्यवस्थापन अभियान अन्तर्गत यस अगाडि पनि पाङका विभिन्न स्थानमा डस्टबीनहरु क्लबकै नेतृत्वमा डस्टबीनहरु राखिएका थिए ।