पुस १४, २०७८
पर्वत : गत मङ्सिर २४ गतेबाट बेपत्ता भएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको १२ वर्षिय सन्देश लामिछाने मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार बेपत्ता भएको १८ औँ दिनमा उनको शव मोदीकै दराक नजिकै रहेको रात्माटा भन्ने स्थानमा फेला परेको हो । बुधवार शवको पोस्टमार्टम गरेपछि शव आफन्तले बुझेका र शवको प्रकृति हेर्दा कुनै जङ्गली जनावरले आक्रमण गरेको हुन सक्ने जस्तो देखिएको डिएसपी बुढाथोकीले बताए ।
‘उनको मृत्यु कसरी भएको हो भन्ने बारेमा त्यस्तो पुष्टि त केही भएको छैन । तर पनि शवको प्रकृति हेर्दा कुनै वन्यजन्तुले आक्रमण गरेको हुन सक्ने जस्तो पनि देखिएको छ,’ उनले भने, ‘दुवै हातको मासु खाएको अवस्थामा छ । अनुहार त प्रस्ट चिनिएको छ, तर शरीरका अन्य भागमा पनि चिथोरेको देखिएको छ ।’
उनको खोजीका लागि गाउँले र प्रहरीले निरन्तर प्रयास गर्दा पनि अवस्थाबारे पत्तो लाग्न सकेन । सुस्त मनस्थिति र बोलाई सम्बन्धी समस्या समेत भएका कारण उनको नाम लिएर चिच्याउँदै बोलाएर खोजी गर्दा पनि उनले उत्तर फर्काउन नसक्दा भेट्न मुस्किल भएको थियो ।
डिएसपी बुढाथोकीका अनुसार गोरु चराउन गएका उनी घर फर्किनन्, गोरु मात्रै फर्किएको थियो । हराएकै दिनबाट स्थानीयले उनी गोठाला गएको क्षेत्रतर्फ खोजी गरेको भए पनि फेला परेनन् । त्यसपछि मात्रै २७ मङ्सिरमा प्रहरी चौकी डिमुवामा निवेदन गरेपछि प्रहरीले समेत वालकको खोजी थालेको थियो ।
गोरु चराउन गएका १२ वर्षिय सन्देश जङ्गलमा मृत भेटिए
