माघ ६, २०७८
पर्वत : पर्वतको मोदी गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्रका रुपमा रहेको भमरकोटसम्म पुग्नको लागि पदमार्ग निर्माण गरिने भएको छ ।
जिल्लाकै उच्च स्थानमा रहेको, वन क्षेत्र सहित समथर र भिरालो घाँसे मैदान सहित रहेको भमरकोट विभिन्न ठाउँहरु नियाल्न सकिने भएकाले पर्यटकीय क्षेत्रको रुपमा रहेको छ। पर्यटकीय सम्भावना बोकेको ठाउँमा पदमार्गबाट पर्यटकहरु आकर्षण गर्नका लागि झण्डै छ किलोमिटर लामो पदमार्ग निर्माण कार्य सुरु गरिएको हो।
मोदी गाउँपालिकाको केन्द्र रहेको पातीचौरबाट सुरु हुने पदमार्ग देउपुरकोट हुँदै भमरकोटसम्म पुग्ने छ। पदमार्ग निर्माण कार्यको शिलन्यास संबिधान सभा सदस्य तथा नेकपा एमालेकी केन्द्रीय सदस्य कल्पना चापागाईँले शिलन्यास गरेकी छिन्। पदमार्गको शिलन्यास कार्यक्रममा बोल्दै उनले उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्न सकिने र त्यसले प्रभावित क्षेत्रका सहित जिल्लाभरका नागरिकको आर्थिक समृद्धिका लागि सहयोगी भूमिका निर्माण गर्ने बताईन्। निर्माण समितिले स्थानीय नागरिकको सुझावको आधारमा पर्यटकहरुलाई सहज हुने र पर्यटकीय स्थानमा बिशेष विश्रा मगर्न सकिने तरीकाले पदमार्ग निर्माण गर्न सुझाव दिईन्। आफू जुनसुकै तरीकाले पनि सघाउन तयार रहेको बताउँदै केन्द्रिय सदस्य चापागाईँले रोजगारीको शिलशिलामा स्वदेश र बिदेशका रहेकाहरुलाई पनि सहयोगका लागि अपिल गरिन । मरेर जाँदा लिएर जाने केही पनि नभएका कारण बाँचुञ्जेल सामाजिक रुपमा केही न केहीमा योगदान गर्न उनको अपिल छ ।
सो अवसरमा उनले आफ्नो तर्फबाट एउटा चौतारी निर्माण गर्ने र पाँच वटा श्री लेखाउने उद्घोष गरेकी छिन्। निर्माण समितिका अनुसार एउटा चौतारी निर्माणको लागि झण्डै ४० हजार रुपैयाँ लगानी हुने छ भने सिँढी निर्माणको लागि तोकिएको प्रति श्री को लागि एक हजार भन्दा बढी रकम लाग्ने छ ।
कार्यक्रममा मोदी गाउँपालिकाका प्रमुख प्रेम शर्मा पौडेल सहित निर्माण समितिका अध्यक्ष जितबहादुर पुन र सचिव विकास हमालले पनि बोलेका थिए । उक्त कार्यक्रमको सञ्चालन निर्माण समितिका सदस्य विज्ञान हमालले गरेका थिए ।
मोदी गाउँपालिका–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाका अनुसार पदमार्गको दुवै पट्टीको भागमा फूलहरु राखिने छन भने छेउको भागमा रेलिङ राखिने छ । आवश्यक ठाउँमा बर र पिपलका एक सय आठ ओटा एकै खालका चौतारा समेत निर्माण गरिने छ भने ठाउँठाउँमा पानीको सुबिधा र सोलार सहित रहेका खानेपानीका धाराहरु राखिने छ । पदमार्गीहरु हिँडेरहेको बेलामा वर्षा भएमा समस्या हुने भएकाले पदमार्गको केही ठाउँमा ओत बस्नको लागि एक तले पक्की छाप्राहरुको निर्माण गरिने छ ।
अहिलेसम्म तीन सय २२ ओटा सिँढीका लागि सहयोगदाताहरुले प्रतिबद्धता जनाएका छन भने आठ वटा चौतारीको निर्माण प्रतिबद्धता आएका छन् । पदमार्ग निर्माणको लागि संबिधान सभा सदस्य कल्पना चापागाईँको पहलमा सात लाख रुपैयाँ विनियोजन भएको थियो भने आवश्यक पर्ने थप रकम जुटाउन अभियान थालिएको छ । पदमार्गको थप डिजाइनको काम चलिरहेकाले कुल लागत यति नै पुग्छ भन्ने यकिन नभएको वडाध्यक्ष तिमिल्सिना बताउँछन् ।
बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024