मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

पोखरामा देखाईँदै छ पर्वतको यो नाटक

माघ २९, २०७८

माघ २९, २०७८
पर्वत : कोभिड–१९ सङ्क्रमणका कारण रोकिएको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट सुरु हुने भएको छ। आयोजक पोखरा थिएटरका अनुसार फागुन १३ गते शुक्रवारबाट सुरु हुने महोत्सव फागुन १६ गते सोमबारसम्म चल्नेछ। यसअगाडि माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिने तय भएको थियो।
महोत्सवका लागि गण्डकी प्रदेशका आठ जिल्लाका १२ ओटा नाटक छनोट भएका छन्। महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो। छनोट भएका १६ नाटकबाट अन्तिम चरणको लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए।
नाटक छनोटका लागि पौष २६ गतेबाट माघ दुई गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो। अन्तिम चरणमा १० नाटक छनोट गर्ने भनिए पनि नाटकको प्रस्तुतिका आधारमा थप दुई नाटकलाई प्रोत्साहन स्वरूप छनोट गरिएको आयोजकको भनाई छ।
अन्तिम चरणको लागि नवलपुर जिल्लाबाट सबैभन्दा धेरै तीन नाटक छनोटमा परेका छन्। जसमा लिला बहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्राविको ‘हराएको खुसी’, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन बाल माध्यमिक विद्यालयको ‘जिम्मेवार को?’ र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यमिक विद्यालयको ‘सक्षम छात्रा’ शीर्षकको नाटक रहेका छन्। कास्की जिल्लाबाट दुई नाटक छनोटमा परेका छन्। जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवासीय माध्यमिक विद्यालयको ‘शान्तिको अशान्ति’ शीर्षकको नाटक र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको ‘आरोह अवरोह’ शीर्षकको नाटक रहेका छन्।
लमजुङ जिल्लाबाट दुई वटा नाटक छनोट भएका छन्। जसमा भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको ‘धनबहादुर’ शीर्षकको नाटक र सूर्य बहादुर के.सी.को लेखन तथा पशुपति न्यौपानेको निर्देशनमा विद्याज्योति माध्यमिक विद्यालय सुन्दर बजारको ‘जिउँदा लासहरू’ शीर्षकको नाटक रहेका छन्। तनहुँ जिल्लाबाट टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयको ‘नाम बिनाको चिर्कटो’ छनोट भएको छ।
यसै गरी गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटा नाट्य रूपान्तरण एवं निर्देशनमा शक्ति माध्यमिक विद्यालयको ‘एक समर्पित छोरा’ शीर्षकको नाटक अन्तिम छनोटमा परेको छ। म्याग्दी जिल्लाबाट बेनी सामुदायिक माध्यमिक विद्यालयको ‘बाल विवाह’ शीर्षकको नाटक छनोट भएको छ। कर्ण बस्यालले लेखेको नाटकलाई रामचन्द्र पौड्यालले निर्देशन गरेका छन्। बागलुङ जिल्लाबाट कालीगण्डकी आवासीय माध्यमिक विद्यालयको ‘विदेशिनु पर्दाको पिडा’ शीर्षकको नाटक छनोट भएको छ। जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा यो नाटक तयार भएको छ। यस्तै पर्वत जिल्लाबाट न्यु होराइजन आवासीय माध्यमिक विद्यालयको ‘मेरो समाजमा नारी’ शीर्षकको नाटक छनोटमा परेको छ। मिना रेग्मीको लेखन रहेको नाटकलाई रेजिना मल्लले निर्देशन गरेका छन्।
नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो। जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका थिए। उनीहरूले सम्बन्धित ठाउँमा पुगेर नाटकको अवलोकन गरेर उत्कृष्ट १२ ओटा नाटकहरू छनोट गरेका हुन्।
‘विद्यालयमा रङ्गमञ्च ः अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एवं नेपाल सङ्गीत तथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठान पोखराले सहकार्य गरेका छन्।
गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवको आयोजन गर्न थालेको हो। त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिका स्तरीय नाटक महोत्सव समेत आयोजना गरेको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive