माघ २९, २०७८
पर्वत : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा पर्वतमा करिब १५ हजार मतदाता थप भएका छन् ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका एक लाख २१ हजार नौ सय ९० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जबकि २०७४ सालमा १८ वर्ष पूरा गरेका एक लाख सात हजार तीन सय जनाले नाम दर्ता गराएका थिए। तथ्याङ्क अनुसार जिल्लामा कुल १४ हजार छ सय ९० जना थप भएका हुन् ।
स्थानीय तह अनुसार हेर्दा अहिले कुश्मा नगरपालिकामा ३१ हजार तीन सय २४ जना, जलजला गाउँपालिकामा १६ हजार तीन सय ९८, मोदी गाउँपालिकामा १९ हजार छ सय ७७ जना, पैयुँ गाउँपालिकामा ११ छ सय २९ जना, फलेवास नगरपालिकामा २३ हजार पाँच सय ६२ जना, महाशिला गाउँपालिकामा आठ हजार दुई सय ३७ जना र बिहादी गाउँपालिकामा ११ हजार एक सय ६३ जना मतदाता रहेका छन् ।
प्रदेश सभा निर्वाचनको लागि दुई ओटा क्षेत्र रहेको पर्वतमा क्षेत्र नं. दुई मा भन्दा एकमा मतदाताको सङ्ख्या बढी रहेको छ । अद्यावधिक विवरण अनुसार क्षेत्र नं. एकमा ६७ हजार तीन सय ९९ जना मतदाता रहँदा क्षेत्र नं. दुईमा ५४ हजार पाँच सय ९१ जना रहेका छन् ।
जिल्ला निर्वाचन अधिकारी शर्माका अनुसार यो तथ्याङ्क प्रशोधन हुन बाँकी रहेका कारण देखिएको सङ्ख्यामा केही थपघट भने हुन सक्ने छ । यो सङ्ख्या जिल्लाभित्र सङ्कलन गरिएका मतदाताहरूको मात्रै भएको र बाहिरी जिल्लामा बसेर नाम दर्ता गराएकाहरूको विवरण समावेश नभइसकेका कारण अन्तिम नामावली प्रकाशन गर्ने बेलामा सङ्ख्या तलमाथि हुन सक्ने देखिएको हो । तर पर्वतको हकमा यो सङ्ख्यामा कमी नहुने बरु मतदाता सङ्ख्या अझै थपिन सक्ने उनको भनाई छ ।
‘यो तथ्याङ्क नै अन्तिम तथ्याङ्क होइन। बाहिरी जिल्लाबाट नाम दर्ता गराएकाहरूको नाम पनि सर्भरबाट एकीकृत गर्नुपर्ने हुन्छ । कसैको मृत्यु भएको छ भने हटाउनुपर्छ । त्यो काम वडाबाट हुन्छ,’ निर्वाचन अधिकारी शर्मा भन्छन्, ‘जिल्ला भित्रैका कोही कोहीले पहिले नै नाम दर्ता गरेको भए पनि कुरा नबुझेर फेरि पनि नाम दर्ता गराएको पनि भेटिएको छ । यी सबै कुरा फिल्टर गर्ने काम अहिले चलिरहेको छ ।’ बसाई सरेर गएका तथा मृत्यु भएकाहरूको निधो गर्नका लागि विवरणहरू वडामा पठाएर रुजु गर्ने पनि उनको भनाई छ ।
०७७ पुस पाँच गतेसम्म मृत्यु भएकाहरूको विवरणहरू मिलाइसकिएकोले मृत्युको मामलामा त्यस यताको विवरण मात्रै प्रशोधन गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा मृत्यु भएकाहरूको सङ्ख्या भन्दा जिल्लाबाट जागिर, अध्ययन, अस्थायी बसाइसराइ लगायतका कारण बाहिरी जिल्लामा पुगेर नाम दर्ता गराएकाहरूको सङ्ख्या बढी भएको अनुमान गरिएका कारण तथ्याङ्कलाई प्रशोधन गर्दा पनि मतदाताको कुल सङ्ख्यामा खासै फरक नआउने देखिएको हो ।
thahakhabar.com