फागुन २५, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा लिइने नगर स्तरीय आधारभूत तह उत्तिर्ण परीक्षा यस वर्षका लागि आउँदो चैत २८ गतेबाट सञ्चालन गर्ने भएको छ।
कुश्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाको आयोजनामा बसेको परीक्षा समितिको बैठकबाट चैत २८ देखि वैशाख ७ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख बिष्णु प्रसाद तिवारीले बताए। उनका अनुसार २८ गते अङ्ग्रेजी, २९ गते नेपाली, ३० गते विज्ञान, वैशाख दुई गते गणित, वैशाख चार गते सामाजिक, पाँच गते पेशा, व्यवसाय तथा प्रविधि, छ गते स्थानप्य विषय वा मातृभाषा र अन्तिम दिन सात गते नैतिक शिक्षा र स्वास्थ्य तथा शारीरिक विषयको परीक्षा सञ्चालन गर्ने भएको हो।
आउँदो वैशाख नौ गतेबाट एसईई परीक्षा सुरु हुने समय तालिका रहेकोले त्यस अगाडि नै विद्यालय स्तरका परीक्षा सकेर एसईईका लागि केन्द्र राखिनुपर्ने आवश्यकतालाई हेरेर परीक्षाको समय निर्धारण गरिएको हो। ‘वैशाख नौ बाट एसईई सुरु हुँदै छ। एसईईका केन्द्र रहेका विद्यालयहरुले बिहान र बेलुका दुवै समयमा परीक्षा सञ्चालन गर्न कठिन हुन्छ। त्यो बाहेक व्यवस्थापनका अन्य काममा पनि धेरै समस्या आउने भएपछि चैत २८ बाट परीक्षा गर्ने निर्णय भएको हो,’ उनले भने, ‘नगरपालिका स्तरीय परीक्षालाई मर्यादित र स्तरीय बनाउनको लागि प्रश्न निर्माणदेखि अनुगमनको काम पनि नगरपालिकाले नै सञ्चालन गर्छ, गर्दै आइरहेको छ।’