जेठ ४, २०७९
पर्वत : पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनका उम्मेदवारहरूलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा हिरादेवी शर्माले गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका गुप्तबहादुर ठकुरीलाई १ हजार ३३१ मतले पराजित गरेकी हुन् । शर्माले ६ हजार ११ मत ल्याउँदा ठकुरीले ४ हजार ६८० मत प्राप्त गरेका छन् । अध्यक्ष पदमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका विशाल महतले २८३, मंगोल नेशनल अर्गनाईजेसनका हिरा बहादुर पुर्जा पुनले ८२, स्वतन्त्र कृष्ण बहादुर बि.कले स्वतन्त्र ५०, जनता समाजवादी पार्टीका कृष्णबहादुर बि.कले ४२ र स्वतन्त्र गङ्गादेवी तिमल्सिना शर्माले शून्य मत पाएका छन् ।
उपाध्यक्ष पदमा पनि एमालेकै विमल लामिछाने निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका उनले यस पटक १ हजार ६४९ मतले काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै उपाध्यक्षमा चुनिएका हुन् । ३१ वर्षिय विमलले ६ हजार ३०३ मत ल्याउँदा गठबन्धनका रामबहादुर प्रसाईँले ४ हजार ६४५ मत पाएका छन् । उपाध्यक्ष पदमा नै प्रतिस्पर्धा गरेका नेशनल मंगोल अर्गनाइजेसनकी कल्पना पुर्जा पुनले ९१ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी पर्वतमाला के.सीले ८० मत पाएका छन् ।
आठ ओटा वडाहरू रहेको मोदीका ५ ओटामा एमालेले र ३ ओटा काँग्रेसले पाएका छन् । एमालेबाट वडा–१ मा टेक बहादुर गुरुङ ४४, २ मा ल बहादुर कार्की क्षेत्री ९१७, ३ मा देवेन्द्र बहादुर क्षेत्री ६४०, ७ मा दुर्गा प्रसाद शर्मा ६१४ र ८ मा सुक बहादुर गुरुङ ४३८ मतले विजयी भएका छन् । यस्तै काँग्रेसबाट वडा–४ मा मोहनसिङ चोचाङ्गी पुन ६३१, ५ मा मानबहादुर अधिकारी १११४ र ६ मा दीपेन्द्र लामिछाने १०९३ मतले विजयी भएका छन् ।