शुक्रबार, माघ ४, २०८१
Friday, January 17, 2025

पोखराका खोला, गुफाको मापदण्ड परिमार्जन गर्न मुख्यमन्त्रीलाई गुहार !

फिर्के खोलाको १० बाट १ र डेभिसफलको ३० बाट ३ मिटरमा झार्न माग

१८ असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी वर्ष पोखराका विभिन्न खोला तथा गुफाहरुको मापदण्ड ‘परिमार्जन’ गर्ने नीति लिएको छ । परिमार्जनका नाममा हाल कायम मापदण्ड घटाउने हो या बढाउने त्यसबारे भने प्रष्ट उल्लेख गरिएको छैन ।

तर महानगर प्रमुख मानबहादुर जीसीले पोखराका खोला तथा गुफाहरुको मापदण्ड फेर्न विज्ञ समितिको कार्यदल गठन भइसकेको र त्यसैको आधारमा मापदण्ड परिमार्जन गर्ने नीति रहेको खुलाएका छन् । उनले उक्त समितिको आधारमा महानगर कार्यपालिकाले नै मापदण्ड तोक्न सक्ने कानूनी प्रबन्ध मिलाइने पनि बताएका छन् ।

‘फिर्के खोला, विजयपुर खोला, सुइखेत खोला, भोटी खोला, स्यानी खोला, स्याङखुदी खोला, गुप्तेश्वर गुफा क्षेत्र र फुस्रे खोला क्षेत्रको मापदण्ड परिमार्जनका लागि विज्ञ सदस्यहरु समेतको कार्यदल गठन गरिएको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘उक्त समितिको सिफारिसको आधारमा नगर कार्यपालिकाले उक्त मापदण्ड परिमार्जन गर्न सक्ने कानूनी प्रबन्ध गरिनेछ ।’

नीति तथा कार्यक्रममा उल्लेखित फिर्के खोला र गुप्तेश्वर गुफा क्षेत्र पोखरा महानगरकै सबैभन्दा बढी अतिक्रमित क्षेत्र हो । उक्त क्षेत्रमा मापदण्डबारे पटक–पटक विवाद हुँदै आएको छ । खोलाको मापदण्ड १० मिटर तोकेर त्यस क्षेत्रभित्र कुनै पनि संरचना बनाउन रोक लगाइएको छ । तर, अतिक्रमण कार्य भने रोकिएको छैन ।

फिर्के खोला मापदण्ड र त्यहाँ बनेका संरचनाबारे पटक–पटक आवाज उठ्दै आएपछि महानगरले ७५ सालमा फिर्केखोला रेखांकन गरेर प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनअनुसार फिर्के खोलाको मापदण्ड मिचेर करिब २ सय संरचना बनेका छन् ।

तर, प्रतिवेदन तयार भएको लामो समयसम्म महानगरले खोला अतिक्रमण गरेर ठडिएका संरचना हटाउन सकेको छैन । स्थानीयले उक्त ठाउँको मापदण्ड घटाएर एक मिटर राख्नसमेत माग राख्दै आएका छन् ।

गुप्तेश्वर गुफाको मापदण्ड : ३० मिटरबाट घटाएर ३ मिटर !

अर्को सबैभन्दा अतिक्रमित सम्पदा गुप्तेश्वर–डेभिसफल क्षेत्र हो । जमिनमुनि गुफा र माथि मैदान भएकाले भूगर्भविद्हरु उक्त ठाउँमा संरचनाहरु नबनाउन सुझाव दिँदै आएका छन् । तर, राज्यको खबरदारी पुग्न नसक्दा संरचना बन्ने क्रम भने रोकिएको छैन ।

मेयर जीसीले नीति तथा कार्यक्रममै उल्लेख गरेर मापदण्ड परिमार्जन गर्ने घोषणा गरेपछि बिहीबार उक्त क्षेत्रका बासिन्दाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापनपत्र बुझाउँदै भने, ‘अहिले मापदण्ड ३० मिटर छ । घटाएर ३ मिटरमा झार्न अनुरोध छ ।’

कांग्रेस वडा सभापति देवराज आचार्यसहितको टोलीले मुख्यमन्त्री पोखरेललाई बुझाएको ज्ञापनपत्रमा गुप्तेश्वर महादेव गुफा वरिपरि कायम गरिएको मापदण्ड हटाउन, डेभिसफल खोला (फेवा बाँधदेखि डेभिसफल हुँदै फुस्रेखोलासम्म)को नयाँ मापदण्ड हटाई ३ मिटर मापदण्ड कायम गराउन, डेभिसफल (पातलेछाँगो) हालसम्म छोरेपाटन माविले भोगचलन, आयआर्जन गरिआएकोमा त्यसलाई विना शर्त निरन्तरता दिनसमेत माग गरिएको छ ।

गुप्तेश्वर गुफाको बीच भागबाट २०० मिटर मापदण्ड कायम गरेको धेरै समय पहिलादेखि नै महानगरपालिकाले नै नक्सा स्वीकृत गरी भवन निर्माण गर्न अनुमति दिएकोमा हालको मापदण्डले चारैतिर रोक्का हुँदा स्थानीयहरु पीरमर्कामा परेको उनीहरुले दाबी गरेका छन् ।

‘सामान्य र नियन्त्रित बहावमा रहेको डेभिसफल खोलालाई पनि ३० मिटर मापदण्ड तोकिएको छ । सो मापदण्ड आवश्यक नभएकाले ३ मिटर कायम राख्न अनुरोध छ,’ पत्रमा उल्लेख छ, ‘डेभिसफल पर्यटकीय रुपमा एकदमै आकर्षक र रमणीय भएकाले विभिन्न बहानामा टेन्डर नगराइयोस् ।’

पोखरा महानगरले सेती खोंच तथा डेभिसफल क्षेत्र सार्वजनिक साझेदारी कार्यक्रम (सानिसा) योजनाअन्तर्गत एक निजी कम्पनीलाई ४० वर्षका लागि भाडामा दिने तयारी गरेको छ । कुनै पनि प्राकृतिक सम्पदा निजी कम्पनीको हातमा लामो समयसम्म सुम्पदा सांस्कृतिक तथा वातावरणीय रुपमा ठूलो क्षति हुने भन्दै सरोकारवाला निकायले विरोध गर्दै आएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive