बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

शनिबारको नगर सभाबाट पारित होला फलेवास नगरपालिकाको बजेट?

असार २४, २०७९

पर्वत : संवैधानिक प्रावधानअनुसार स्थानीय तहहरूले नीति तथा कार्यक्रम ल्याएपछि गरेपछि असार १० मा बजेट वक्तव्य गाउँ वा नगर सभामा पेस गर्नुपर्छ। तर जिल्लाको फलेवास नगरपालिकामा सत्तामा रहेको गठबन्धन र प्रतिपक्षमा रहेको एमालेबीचको विवादका कारण नगरसभा नै बस्न सकेन।

नीति तथा कार्यक्रम र बजेटको विषयमा दुई पक्षले एक अर्कालाई दोष लगाउँदै अडानबाट पछि नहटेका कारण बैठक नै बस्न सकेको छैन।

जसका कारण नीति तथा कार्यक्रम र बजेट नै सार्वजनिक हुन पाएको छैन। नगर कार्यपालिकामा नेकपा एमालेका सदस्यहरूको बहुमत रहेको छ भने नगर प्रमुखमा र उपप्रमुखमा गठबन्धनबाट क्रमशः नेपाली कांग्रेस र नेकपा माओवादीले नेतृत्व गरेका छन्।

असार १० को मिति पार गरेको १५ दिनपछि शनिबार नगरसभा गर्ने भन्ने विषयमा दुई पक्षको सहमति भएको छ। कार्यक्रमहरू पास हुन नपाउँदा नागरिकले अपेक्षा गरेको विकासमा असर पर्ने भएकाले नगर सभाबाट कार्यक्रम र बजेट पास हुने कुरामा आफू विश्वस्त रहेको नगर प्रमुख गंगाधर तिवारी बताउँछन्।

‘असार २५ का लागि नगर सभा गर्ने कुरा भएको छ। सल्लाह हुँदै पनि छ, हेरौँ के हुन्छ’, तपाईँहरूबीच के सहमति भयो भन्ने प्रश्नमा उनले भने, ‘खासै केही छैन। सल्लाहमा अहिले गरौँ भन्ने छ।’

नीति तथा कार्यक्रमहरू कार्यपालिकाको बैठकमा पेस नगरी सिधै नगर सभामा लैजान खोजेको र प्रतिपक्षीको विचार नसमेटी आफ्ना कार्यक्रमहरू एकलौटी रूपमा पास गर्न खोजेका कारण आफूहरू कार्यपालिका बैठकबाट बाहिरिएको एमालेले बताएको छ। कांग्रेसले भने एमालेले बहुमतको दम्भ देखाएर पुरानै कार्यक्रमहरूलाई मात्रै निरन्तरता दिन खोज्नुका साथै नवनिर्वाचित कांग्रेसका नगर प्रमुखले चाहेका कार्यक्रमहरू थप गर्नै नदिएको दाबी गरेको छ।

नगर प्रमुख तिवारीले स्थानीय तहको निर्वाचनको बेलामा नगर बस सञ्चालन गर्ने घोषणा गरे अनुसार नगर बस चलाउने प्रस्ताव र कोभिडका कारण समस्या भएकाले नगरपालिकाले लिने विभिन्न करमा २५ प्रतिशत कम गर्ने प्रस्तावमा पनि एमालेका सदस्यहरू असहमत भएको कांग्रेसको भनाई छ।

कार्यपालिकामा सहभागी एमालेका प्रतिनिधिहरूले भने नीति तथा कार्यक्रमहरूको अध्ययन नै गर्न नदिएर मौखिक रूपमा एकै पटक पास गरौँ भन्दै आएका कारण आफूहरूले छलफलबाट बाहिरिएको बताउँदै आएका छन्।

कार्यपालिका सदस्य नेत्र बि.क ले नगर कार्यपालिकामा रहेका २१ जना सदस्यहरूले नीति तथा कार्यक्रमबारे अध्ययन गर्न पाउनुपर्ने र सबैको राय सुझावको आधारमा आवश्यक संशोधन गरेर जानुपर्ने भए पनि त्यसो नगरिएका कारण आफूहरू बैठकबाट बाहिरिएको बताए। फेरि हुने नगर सभामा पनि कार्यक्रम तथा योजनाहरू अध्ययन गर्न नदिएर एकलौटी रूपमा पास गर्न खोजेमा फेरि पनि आफूहरू बैठकबाट बाहिरिने उनको भनाई छ।

‘कार्यक्रमहरू तय गर्दा हाम्रा प्रतिनिधिहरूलाई पनि समावेश गरेको भए हुने, प्रतिनिधि समावेश नगरेपछि उहाँहरूले बनाएको योजना त हामी सबै जनाले अध्ययन गर्न पाउनुपर्छ’, उनले भने, ‘शनिवारको नगर सभामा जाने कुरा त भएको छ तर हामीले पढ्न नदिएर फेरि पनि सिधै पास गर्न खोज्ने हो भने हामी सहभागी हुँदैनौँ। ती पानामा के लेखिएको छ भन्ने कुरा पढ्न पाउनु पर्दैन? सबै कुराको अध्ययन गरेर आवश्यक संशोधन गरेपछि पो पास गर्न लैजाने हो।’

thahakhabar

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive