बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

ट्रस्टका लागि विनियोजित रकम नलिने मन्त्री श्रेष्ठको घोषणा

असार २६, २०७९
पर्वत : गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्ना बाबु र आमाको नाममा रहेको प्रतिष्ठानको लागि विनियोजन भएको बजेट नलिने भएका छन् ।
स्याङ्जाको भिरकोट नगरपालिका–१ मा रहेको पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्टमा दुई फरक फरक मन्त्रालयले ५०÷५० लाख रुपैयाँ गरी १ करोड रुपैयाँ विनियोजन भएको छ । सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट गरेर १ करोड रुपैयाँ लिएर मन्त्रीले बजेटमा चरम लापरबाही गरेको भन्दै कडा आलोचना भएपछि मन्त्री श्रेष्ठले आफूले ट्रस्टका लागि विनियोजन भएको बजेट ट्रस्टले नलिने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा यस बारेमा लेख्दै आफ्नो राजनीति जनताको सेवाको लागि र कर्म समाजका लागि भएकोले आफ्नो तर्फबाट गल्ती भएको भएको भए माफ गर्न अनुरोध गरेका छन् । ट्रस्टको उद्देश्य ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, महिला सशक्तीकरण गर्ने, असायहरुको हितमा काम गर्ने, विद्यार्थीलाई सहयोग, गरिब, रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको भएको पनि बताएका छन् ।
‘मेरो राजनीति सधैँ जनताको सेवाको लागि मेरो कर्म समाज विकासको लागि गल्ती भए माफ गर्नु होला ! कमीकमजोरी भए सच्चिने मौका दिनु होला !,’ उनले लेखेका छन्, ‘यो शीर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थ मन्त्री ज्यूलाई अनुरोध गर्दछु । म सधैँ जनताको पक्षमा काम गर्ने नेपाली काँग्रेसको ईमान्दार सिपाही हो ।’
सामाजिक सञ्जाल र सञ्चार माध्यममा भएका आलोचनाका विषयमा आफू गम्भीर रहेको बताउँदै फिर्ता भएको बजेट असहाय, ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस भन्ने चाहना रहेको उल्लेख गरेका छन् । उक्त ट्रस्ट १२ वर्षदेखि सञ्चालनमा रहेर गरिब तथा दुःखीहरूको पक्षमा काम गरिरहेकोले आफू गण्डकी प्रदेशको मन्त्रीको हैसियतमा रहँदा आफ्नो गृह जिल्लामा ट्रस्टमार्फत समस्याग्रस्त वर्गहरूको सम्बोधन गर्दा ठिक होला भन्ने ठानेर बजेटको व्यवस्था गर्न अनुरोध गरेको पनि मन्त्री श्रेष्ठले बताएका छन् ।
बजेटकै विषयलाई लिएर गण्डकी प्रदेश सभा शुक्रवारदेखि अवरुद्ध अवस्थामा छ। असार १ गते संसद्मा पेस भएको बजेटमाथिको छलफल असार २० गते सुरु भएको थियो । गण्डकी प्रदेश सरकारले आर्थिक आर्थिक वर्ष २०७९।०८० का लागि ल्याएको बजेटमा सकेसम्म आफ्नै मन्त्रालयबाट त त्यसले नपुगे एउटै योजनामा अर्को मन्त्रालयबाट समेत बजेट हालेर आफूहरूको मनोमानी गरेको देखिएको थियो ।
प्रदेशको विकासका लागि भन्दै निजी सवारीमा वार्षिक १० हजार रुपैयाँसम्म कर वृद्धि गरेको सरकारले आफ्नो पक्षका नेताका पक्षमा त्यो पनि स्वर्गीय बाबु आमाको नाममा कोष बनाउँदै बजेटको हिनामिना गरेको भन्ने आवाज नागरिकबाट उठिरहेको छ । परिवारको कोषमा करोड विनियोजन गर्नेदेखि एउटै वडामा २५ करोड रुपैयाँसम्म विनियोजन गर्नुले बजेटमा मन्त्रीहरूको हालीमुहाली रहेको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ ।
बजेटमा पोखरा–१६ मा मात्रै ६ करोडभन्दा बढी छुटाइएको छ । यो वडा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काको वडा समेत हो । समग्रमा सबै मन्त्रालयबाट १६ नम्बर वडामा मात्रै २५ करोड हाराहारी बजेट विनियोजन भएको छ । यसअघि पनि धेरै बजेट एउटै वडामा परेको भन्दै प्रतिपक्षी र सत्तारुढ सांसदहरूले नै विरोध जनाएका थिए ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका स्वर्गीय बाबु गोवर्द्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । तनहुँको व्यास नगरपालिका–१० मा गोवर्द्धन स्मृति कोषका लागि भनेर सामाजिक विकास कार्यालय तनहुँमार्फत कार्यान्वयन हुने गरी ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive