साउन ३, २०७९
पर्वत : पर्वतका २६ जना शिक्षकहरुलाई विभिन्न तह भित्रका विभिन्न श्रेणीमा भएको बढुवाको नियुक्तिपत्र वितरण गरिएको छ।
शिक्षक सेवा आयोगले हालै सार्वजनिक गरेका नतिजाहरुमा बढुवा सिफारिस भएका शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय इकाइमा सोमबार संयुक्त रुपमा भेला गराएर विभिन्न श्रेणीमा भएका बढुवाको नियुक्तिपत्र वितरण गरिएको हो।
समन्वय इकाईका प्रमख रामेश्वर लामिछानेका अनुसार माध्यमिक तहको प्रथम श्रेणीमा एक जना र द्धितिय श्रेणीमा तीन जना, निम्न माध्यमिक तहको द्धितिय श्रेणीमा चार जना, प्राथमिक तहको प्रथम श्रेणीमा तीन जना र द्धितिय श्रेणीमा १५ जना गरी कुल २६ जनाको बढुवा सिफारिस भइ आएको थियो। बढुवा सिफारिस भएका शिक्षकहरुलाई कार्यालयमा भेला गरेर थप उर्जाका साथ पेसामा लाग्न अनुरोध गर्दै नियुक्ति पत्र वितरण गरिएको हो।
सो अवसरमा बोल्दै इकाई प्रमुख लामिछानेले शिक्षकमा पेसागत दक्षताको विकास हुँदै जाँदा शैक्षिक गुणस्तरमा पनि बृद्धि हुँदै जानुपर्ने बताए। शिक्षकले पेसागत रुपमा पाउने सुरक्षाका रुपमा बढुवालाई पनि लिन सकिने बताउँदै उनले यो प्रक्रियाले शिक्षकलाई पेसामा लाग्न झनै प्रेरणा दिने बताए। बढुवा भएर कार्यक्षेत्रमा जान लागेका शिक्षकहरुबाट थप शैक्षिक सुधार प्रयासको आसा गरिएको बताउँदै उनले कार्यक्षेत्रमा नयाँ उपलब्धि हुने गरेमा विश्वास गरिएको बताए।
बढुवा भएका शिक्षकहरुमध्येबाट माध्यमिक तहको प्रथम श्रेणीमा बढुवा भएका जननेत्र माध्यमिक विद्यालय देउपुरका शिक्षक कुमार उपाध्यायले कुनै पेसाभित्र रहने पदीय उन्नतिका कुरा त्यो पेसालाई आकर्षित गराउनु मात्र नभई पेसामा रहेका व्यक्तिको पेसागत क्षमतालाई अभिबृद्धि गर्ने उपायको रुपमा रहेको बताए। शिक्षकहरु कार्यरत रहेको श्रेणीबाट एक तह माथिल्लो श्रेणीमा जान पाउँदा शिक्षणमा नयाँ जोश र नयाँ उर्जा मिल्ने उपाध्यायले बताए। शैक्षिक गुणस्तर कायम गर्नको लागि शिक्षक एक्लैबाट गरिने प्रयास असफल हुने भएकाले अभिभावक र यसका सरोकारवाला निकायहरुको ध्यान पनि उत्तिकै आवश्यक रहेको उनको भनाई छ।
बढुवा नियुक्तिपत्र वितरण कार्यक्रमको सञ्चालन कार्यालयकी प्राविधिक सहायक शोभा गाहा मगरले गरेकी थिईन्।
सोमबार बढुवा नियुक्ति पत्र बुझेका शिक्षकहरु बढुवा अन्तर्गतको २५ प्रतिशतको आन्तरिक लिखित खुल्ला परीक्षाबाट सिफारिस भएर आएका हुन्। दरबन्दीको अनुपातमा अुने बढुवामा कार्य सम्पादन मूल्याङ्नको आधारमा हुने ७५ प्रतिशततर्फको नतिजा प्रकाशन हुन बाँकी नै रहेको छ।
पर्वतका २६ जना शिक्षकहरुलाई बढुवा नियुक्ति
साउन ३, २०७९
