साउन १४, २०७९
पर्वत : काठमाण्डौको अधिकारलाई विकेन्द्रीत गर्दै गाउँमै सिंहदरबारको अनूभूति दिने भनी नेपालमा संघीयता लागू भएको छ। नागरिकले अझै पनि सिंहदरबारका अधिकार आफ्नो गाउँमा भोग्न नपाएको गुनासा त गर्ने गरेका छन्। निर्वाचनको बेलामा अनेक तरिकाले मत रिझाए पनि जितिसकेपछि जनप्रतिनिधिले नागरिकलाई आवश्यक वास्ता नगर्दा उनीहरुमा निराशा उत्पन्न हुने गरेको छ।
त्यही परिवेशमा गत स्थानीयको तह निर्वाचनमा कुश्मा नगरपालिका– ८ चुवाबाट निर्वाचित वडा अध्यक्ष सुरेन्द्र केसीले पदभार ग्रहण गदै वडाका गरिव तथा विपन्न परिवारलाई किरिया खर्च दिने र सामाजिक सुरक्षा भत्ता घरघरमै पु¥याउने प्रतिवद्धता गरे। नागरिकका हरेक सुख र दुःखमा साथ दिने प्रतिबद्धता जनाए। सोही अनुसार वडाध्यक्ष केसीले आज चुवाका घरघरमा पुगेर भत्ता वितरण गर्नुका साथै विपन्न परिवारलाई किरिया खर्च वितरण गरेका छन्। चुवामा मासिक रुपमा दुई सय १२ जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन्। वडाध्यक्ष केसीले बैंकसँगको सहकार्यमा एक सय १५ जना व्यक्तिलाई घरघरमै पुगेर भत्ता वितरण गरेको बता । बाँकी रहेका अन्य व्यक्तिहरुलाई आईतवारसम्म वितरण गरिने उनको भनाई छ।
‘जनताले थोरै भए पनि सास्ती हटेको अनुभव गर्न सक्नुभएन भने त संघीयता हुनु र नहुनुमा उहाँहरुलाई के पो फरक पर्ने भयो र? निर्वाचनको बेलामा सकेको सुख दिन्छौँ भनेर बोलेका हामीले बोले अनुसार काम गर्न सकेमा त्यो पनि संघीयता नै हो,’ वढाध्यक्ष क.सी.ले भने, ‘ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन निकै कठिन भएकाले बैैंकसँग सहकार्य गरेर प्रत्येक लाभग्राही व्यक्तिको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। यसले थोरै पनि अधिकारलाई घरसम्म लग्ने काम गरेको छ।’
निर्वाचनका क्रममा नागरिकको घरघरमा पुग्दा गरेको प्रतिबद्धतालाई पदभार ग्रहणसँगै कार्यान्वयन गर्न सुरु गरेको उनको भनाई छ। कतिपय अवस्थामा डोकोमा बोकेर सामाजिक सुरक्षा भत्ता लिन परिवारले लैजानुपर्ने बाध्यता रहेकोले जनताका समस्यालाई अब वडाले बैंकसँग सहकार्य गरेर समाधान गर्ने पनि वडाध्यक्ष केसीले बताए।
घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका ज्येष्ठ नागरिक निकै खुशी भएका थिए। ‘वडाध्यक्षले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिनुभयो, मलाई निकै खुशी लागेको छ।’ स्थानीय ज्येष्ठ नागरिक गंगाधर सुवेदीले भने।
त्यस्तै वडा अध्यक्ष केसीले वडाका रंगनाथ सुवेदीलाई काजकिरिया खर्च वापत १९ हजार रुपैयाँ प्रदान गरिएको समेत जानकारी दिए।