साउन १५, २०७९
पर्वत : नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति पर्वतले पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन छात्रावासमा युरोगाड हस्तान्तरण गरेको छ।
निजामति कर्मचारी आन्दोलनको क्रममा शहिद भएकाहरु मनोज जोशी भूपेन्द्र कार्की र सुरेन्द्र वि.क.को स्मृति दिवसका अवसरमा दृष्टिबिहीन विद्यार्थीहरुको स्वास्थ्यमा ध्यान दिँदै उनीहरु बस्ने छावासमा राख्ने गरी युरोगार्ड हस्तान्तरण गरिएको सङ्गठनका पर्वत सचिव दिपक सुवेदीले बताए।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी पर्वतका अध्यक्ष राजुप्रसाद पौडेलले कर्मचारी आन्दोलनको प्रमुख सङ्ठनको रुपमा नेपाल निजामती कर्मचारी सङ्गठनले राष्ट्रिय स्तरमा महत्वपूर्ण भुमिका खेलेको वताए। कर्मचारीहरुले पेशाप्रति इमान्दार भएर कर्तव्य पूरा गरेमा मात्र शहिदहरुको सच्चा सम्झना गरिएको ठहरिने उनको भनाई छ।
निमित्त प्रमुख जिल्ला अधिकारी मोहनवहादुर थापाले शहिदहरुलाई स्मृति दिवसमा मात्र सम्झने नभई उनीहरुको परिवारको अवस्था पारिवारिक सदस्यहरुको समस्याको बारेमा ध्यान दिन आवश्यक रहेको बताए। सहयोग कार्यक्रमहरुलाई बृहद् रुपमा सञ्चालन गर्न सकेमा समस्यामा रहेका धेरैको अवस्थामा सुधार हुन सक्ने उनको सुझाव छ।

नेकपा एमाले जिल्ला कमिटीका सचिव गोविन्द पहाडीले २०४८ सालमा शाहदत प्राप्त गरेका व्यक्तिलाई २०७४ सालमा मात्र शहिद घोषणा गरेकोप्रति लक्षित गर्दै सरकार शहिदहरुप्रति अनुदार रहेको तर्क गरे।
कार्यक्रममा नेकपा एमाले पेशागत फाँट इन्चार्ज शारदा शर्मा, शिवालय माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एवं कुश्मा नगरपालिका–६ का वडाध्यक्ष इश्वर गिरी, नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कमिटी सदस्य दिपक शर्मा, नेपाल निजामती कर्मचारी सङ्गठन प्रदेश कार्यसमितिका उपाध्यक्ष शारदा खड्का, पेशागत महासंघ प्रदेश कमिटी उपाध्यक्ष रामजीप्रसाद पौडेल, नेपाल निजामती कर्मचारी सङ्गठनका प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, पालिका स्तरीय कमिटीका अध्यक्षहरु, शिवालय माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो।

नेपाल निजामती कर्मचारी सङ्गठन पर्वतका अध्यक्ष वालकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पाराश्वर शर्मा र सञ्चालन सचिव दिपक सुवेदी गरेका थिए। शिवालय माध्यिमक विद्यालयमा रहेको दृष्टिविहिन छात्रावासमा रहेका विद्यार्थीहरुको लागि शुद्ध पिउने पानीको व्यवस्थापन गर्नका यस्तो कार्यक्रमको आयोजना गरीएको सङ्गठनका अध्यक्ष वालकृष्ण शर्माले बताए।
वि.स.२०४८ साल साउन १५ गतेका दिन नेपाल निजामती कर्मचारी सङ्गठनको अगुवाइमा देशव्यापी रुपमा आन्लोलन भएको थियो। आन्दोलनको क्रममा जिल्ला कार्यसमिती खोटाङले निकालेको विरोध जुलुसमा सहभागी हुने क्रममा प्रहरीको गोली लाग्दा मनोज जोशीको निधन भएको थियो। त्यसैको सम्झनामा हरेक वर्षको साउन १५ गते सङ्गठनले विभिन्न कार्यक्रमहरुको आयोजना गरी शहिदहरुको सम्झना गर्दै आएको छ। यस्तै २०४७ सालको वैशाख १७ गते पोखरामा शाहदत प्राप्त गरेका धपेन्द्र कार्की र २०६४ सालको माघ ८ गते मुगुमा सुरेन्द्र के.सी.ले शाहदत प्राप्त गरेका थिए।
तीनै जना शहिदहरुको स्मृतिमा विगतबाट नै सङ्गठनले कार्यक्रमहरु गर्दै आइरहेको सचिव सुवेदीले बताए। उनीहरुलाई नेपाल सरकारले २०७४ सालको माघ २२ गते शहिद घोषणा गरेको थियो।





