शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

एसईईमा शून्य ल्याएकाको पुनर्योग गर्दा ८० नम्बर

साउन ३०, २०७९

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुँदा एक परीक्षार्थीले गणितमा शून्य अंक पाए। ती परीक्षार्थीले आफूले प्राप्त गरेको नतिजाप्रति चित्त बुझाएनन् र सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गई पुनर्योगको आवेदन दिए।

गोरखापत्रमा प्रकृति अधिकारी लेख्छन्, पुनर्योगका लागि पोकाबाट उनको उत्तरपुस्तिका झिक्दा पनिकाका कर्मचारी नै झस्किए। कारण ती परीक्षार्थीले वास्तवमा ८० अंक पाएका थिए तर अंक चढाउँदा अगाडिको अंक नै छुट्याइएको रहेछ। धन्न ती परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएकाले उनको नतिजा ‘ई’बाट ए ग्रेडमा परिवर्तन हुन सक्यो।

एसईईमा प्राप्त गरेको नतिजाप्रति चित्त नबुझाएका परीक्षार्थीले आइतबारसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएकोमा सानोठिमीमा दुई हजार ६७१ जनाको आवेदन परेको छ। पुनर्योगका लागि परीक्षार्थीले सम्बन्धित जिल्लामै आवेदन दिन पाउने व्यवस्था भएकाले त्यहाँ करिब एक हजार आवेदन परेको हुन सक्ने अनुमान पनिकाको छ।

आवेदन दिएका परीक्षार्थीको उत्तरपुस्तिका पुनर्योग गर्ने कार्य पनि धमाधम थालिएको छ। पनिकाले हालसम्म ६८४ वटा उत्तरपुस्तिकाको अंक परिवर्तन भएको जनाएको छ। पुनर्योगपछि सरदर तीनदेखि सात अंकसम्म बढेको पाइएको छ। कुनै–कुनै परीक्षार्थीले तीनदेखि चारवटा विषयमा समेत पुनर्योगका लागि आवेदन दिएका छन्।

कतिपय परीक्षार्थीको अंक बढे पनि ग्रेड वृद्धि भएको छैन भने कतिपयको एक अंक बढ्दा ग्रेड वृद्धि भएको अवस्था छ। पनिकाका अनुसार अनिवार्य गणितमा ३०, विज्ञानमा १५ र ऐच्छिक गणितमा ११ जनाको ग्रेडवृद्धि भएको छ।

पुनर्योगका लागि आवेदन परेपछि उत्तरपुस्तिका खोतल्दा कतिपयको चकित पार्ने नतिजा देखिएको छ। सुरुमा ७१ अंक पाएकाको पुनर्योगपछि ८६, चार अंक प्राप्त गरेकोको पछि ४०, ३६ अंक प्राप्त गरेकाको पछि ८८, ८६ अंक प्राप्त गरेकाको ९३, ४० अंक प्राप्त गरेकाको ६६ अंक परिवर्तन भएर आएको छ। ‘ई’ ग्रेड प्राप्त गर्नेले पुनर्योगपछि ‘ए,’ ‘बी’ ग्रेड प्राप्त गरेकाले ‘ए प्लस’, ‘सी’ ग्रेड प्राप्त गरेकाले ‘ए प्लस’ आदि ग्रेडमा उक्लिएका छन्।

उपपरीक्षा नियन्त्रक भक्तबहादुर गोदारले गणित विषयका परीक्षकले समेत अंक जोड्दा गल्ती गरेको बताउँदै भने, ‘परीक्षकको लापरबाही देखिएको छ। सबैभन्दा बढी अंक उतार गर्दा र गणनामा त्रुटि देखिएको छ।’

विशेष गरी परीक्षकले हतार–हतार गरी बढीभन्दा बढी उत्तरपुस्तिका परीक्षण गर्दा यस्ता त्रुटि हुने गरेको छ। यसलाई पनिकाले भने प्राविधिक त्रुटि भनेको छ। परीक्षकको लापरबाहीका कारण सयौँ परीक्षार्थीको नतिजा गडबड हुन सक्ने देखिन्छ। यसले गर्दा नतिजाप्रति चित्त बुझाएर पुनर्योगका लागि आवेदन नदिएका परीक्षार्थी अन्यायमा परेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive