पर्वत : जिल्लाको बिहादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका सुबोध बाबू पौडेल लाई बिहादी गाउँपालिकामा स्वागत तथा परिचय कार्यक्रम सम्पन्न भएको छ। पौडेल गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयबाट सुरुवा भई बिहादी आएका हुन्।
कार्यक्रममा बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङ, उपाध्यक्ष मिना शर्मा तिवारी, लगायतले फुलमाला लगाई स्वागत गरेका थिए। उक्त अवसरमा गाउँपालिकाको कार्यालय र वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियोे।
गाउँपालिकाको कार्यालयको सभाहलमा गाउँपालिकाका अध्यक्ष परबिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले बिहादीलाई समुन्नत बनाउन तथा संघियताको मर्मअनुसार नागरिकले सहज तरिकाले सेवा प्राप्त गर्नमा आँफू प्रतिबद्ध रहेको बताएका छन्। नागरिकलाई सरकारी निकायको सेवा प्रदान गर्दा प्रत्यक्ष जोडिने भनेकै कर्मचारी भएकाले कर्मचारीहरुले नागरिकमैत्री सेवा प्रवाहमा जोड दिनुपर्ने उनको भनाई छ।
पौडेललाई स्वागत गर्दै अध्यक्ष परबिन गुरुङले सम्पुर्ण कर्मचारीले कर्तव्य र समयको मध्यनजर गरेमा बिहादी समुन्नत बन्ने सक्ने र सम्मानित बिहादीबासी हुने कुरा बताएका छन्। आफूले पनि बिहादीको विकास र परिवर्तनका लागि प्रतिबद्ध भएर काम गर्ने बताउँदै उनले अन्य सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई पनि पालिकाको समग्र विकासको लागि एक ढिक्का भएर काम गर्न निर्देशन दिएका छन्। अध्यक्ष गुरुङले गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरे।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै गाउँपालिकाकी उपाध्यक्ष मिना शर्मा तिवारीले हरेक सेवाग्राही जनप्रतनिधि भन्दा पहिले कर्मचारीहरुसँग भेटीने भएकाले कर्मचारीहरुले नागरिकको समस्या र अवस्था बुझेर सेवा प्रवाह गर्नुपर्ने बताइन। कर्मचारीहरुको थोरै मिजासिलो व्यवहारले पनि सेवाग्राहीमा सकारात्मक उर्जा मिल्ने भएका कारण नागरिकले परिवर्तनको महसुस गर्न सक्ने उनको भनाई छ। बिहादीको विकासको लागि जनप्रतिनिधि र कर्मचारीहरु एक ढिक्का रहेको बताउँदै उपाध्यक्ष तिवारीले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत गरेकी थिईन् ।





