शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

एमाले पर्वत : आकांक्षी धेरै भएपछि प्रदेशमा ३७ जनाको सिफारिश

पर्वत : आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरू आ–आफ्ना उम्मेदवार छनोट प्रक्रियामा लागिरहेका छन्। नेपाली काँग्रेसले इच्छुकहरूबाट मनोनयन सङ्कलन गरेर आकांक्षीहरूको घेरालाई साँघुरो बनाउने प्रयासमा छ।

काँग्रेसले खुल्ला रूपमा मनोनयन मागिरहेको बेलामा मौन बसेको एमालेले आन्तरिक बैठक तथा छलफलको आयोजना गरेर उम्मेदवार बन्न चाहनेको नामावली सङ्कलनपछि प्रदेश कमिटीमा सिफारिशसमेत पठाइसकेको छ।

१ प्रतिनिधिसभा र २ प्रदेशसभा निर्वाचनमा दुई ओटा क्षेत्र रहेको पर्वतमा प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारको सङ्ख्या ३ जना मात्र हुन्छ।

आकांक्षीहरूको सङ्ख्या सकेसम्म घटाउने प्रयासस्वरूप पार्टीभित्रको भेला र बैठकमा निकै कसरत गरेको भए पनि जिल्लाबाट ३७ जनाको नाम प्रदेश कमिटीमा सिफारिश गरिएको एमालेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।

एमालेभित्रका आकांक्षीहरूको नाम बाहिर ल्याउँदा इच्छुकहरूबीच नै तीतो मैलो उत्पन्न हुनसक्ने तथा अनावश्यक टीका टिप्पणी हुनसक्ने भन्दै इच्छुकहरूको नामावली सङ्कलन गरेको एमालेले सार्वजनिक गरेको थिएन।

तर बैठकमा सहभागी ती नेताका अनुसार एमालेको जिल्ला कमिटीले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फका सम्भावित उम्मेदवारको रूपमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाईँ, प्रतिनिधिसभाका सदस्य पदम गिरी र प्रदेशसभा सदस्य विकास लम्सालको नाम सिफारिश गरेको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुखसमेत रहेका मनोहर विश्वकर्मा पौडेलको नाम सिफारिश गरी पठाइएको छ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना उम्मेदवारीका लागि इच्छुक नरहेको तर संसदमा खेलेको भूमिकाको सम्मानस्वरुप नाम राखेर पठाउनुपर्ने कुरा उठेपछि नाम राखेर पठाइएको ती नेताको भनाई छ।

प्रदेशसभा निर्वाचन क्षेत्र १ को प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा एमाले पर्वतका सचिव गोविन्द पहाडीसहित मेघनाथ सुवेदी, भक्तबहादुर कुँवर, प्रकाश लामिछाने, जुनादेवी नेपाली, शान्त पौडेल, यज्ञप्रसाद पौडेल, दाताराम चपाई, हरिओम शर्मा लामिछाने, प्रेम शर्मा पौडेल र विकास तिमिल्सिनाको नाम सिफारिश भएको छ।

समानुपातिकतर्फ प्रेमकुमार लामिछाने, मुगाकुमारी शर्मा, दुर्गाप्रसाद शर्मा, महेन्द्रकुमार जोशी, सुजन बि.क., सूर्यप्रसाद शर्मा र जङ्गबहादुर पुनको नाम सिफारिश गरेको एमाले स्रोत बताउँछ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ को प्रत्यक्ष उम्मेदवारका रूपमा मित्रलाल बस्याल, कमलप्रसाद भुसाल, सुन्दर भुसाल, बिन्दु अधिकारी र राजुप्रसाद पौडेलको नाम तथा समानुपातिकमा शारदाकुमारी शर्मा, कविता बि.क., झबिकला काफ्ले, पुष्पराज पौडेल, एकबहादुर हमाल, केसकुमारी दमिनी, तुलाकान्त सुनार र अनिलप्रसाद मास्केको नाम सिफारिश गरिएको छ।

जिल्ला कमिटीले नाम काँटछाँट गर्दा नेताहरूबीच मनमुटाव हुने सक्ने र त्यसैका कारण गठबन्धन भारी पर्नसक्ने आँकलन गरेको एमालेले आकांक्षी नेताहरूलाई रिसाउने कारण नदिनका लागि आकांक्षी सबैको नाम प्रदेश कमिटीमा आवश्यक रायसहित पेश गरेको हो।

पठाइएका नामहरूलाई काँटछाँट गर्ने अधिकार प्रदेश कमिटीमा पनि रहेका कारण आवश्यक ठानेको अवस्थामा प्रदेशले पनि नाम काँटछाँट गरेर केन्द्रीय कमिटीमा सिफारिश गर्नेछ।

प्रदेशले पठाएका आकांक्षीमध्येबाट केन्द्रीय कमिटीले उम्मेदवार तय गर्नेछ। भदौ अन्त्यसम्ममा उम्मेदवार टुङ्गो लगाउने भनिए पनि कतिपय ठाउँमा समयमा नै टुङ्गिन सक्नेमा शङ्का छ।

आकांक्षीहरू धेरै हुनु र उनीहरू कसैलाई पनि दुःखी नबनाई टिकट वितरण गर्नुपर्ने बाध्यतामा एमाले छ। उम्मेदवारको टिकट टुङ्गो लगाउने जिम्मा पार्टीको ‘हाइ कमान्ड’ मा रहेको छ।

थाहा खबरबाट साभार गरिएको

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive