पर्वत : ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल नाराका साथ सामाजिक सेवामा सक्रिय रहँदै आएको यूवाहरु आवद्ध संस्था पर्वत जेसिजले विभिन्न कार्यक्रमको आयोजना गरी ‘जेसिज सप्ताह’ मनाउन लागेको छ ।
बिहीबारदेखि भदौ २९ गतेसम्म हरेक दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरेर साताब्यापी रुपमा ‘जेसिज सप्ताह’ मनाउन लागिएको हो । बिहीबार जेसिजको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा सप्ताहको सुरुवात गरिएको छ ।
सप्ताहको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बि.क.ले राजनीतिक प्रतिस्पर्धाबाट टाढा रहेर विशुद्ध यूवाहरु समावेश भएर समाजसेवामा लागिरहेको जेसिजका कामहरु समाजका लागि महत्वूर्ण भएको बताए । यूवाहरुको व्यक्तित्व र नेतृत्व सीपको विकासका लागि जेसिजले महत्वपूर्ण स्थान दिएको बताउँदै उनले जेसिजको बिधान अनुसार मिल्ने भए जिल्लाका हरेक स्थानीय तहमा पनि यसका इकाईहरु स्थापनाको आवश्यकता रहेको बताए । विशुद्ध तरिकाले समाजसेवा लागेका यूवाहरुको साथमा आफू पनि रहेको बताउँदै बि.क.ले जेसिजसँगको सहकार्यमा आफू जुनसुकै बेलामा पनि तयार रहेको उल्लेख गरे ।
वर्ष २०२२ को शाखा अध्यक्ष उषा चापागाई सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक अमृतप्रसाद पोख्रेल र सञ्चालन महासचिव हेमन्तबाबु आचार्यले गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक बिष्णुप्रसाद तिवारीका अनुसार भदौ २४ गते महिला हिंसाका बिरुद्धमा सचेतना तथा कानुनी उपचार सम्बन्धि कार्यक्रम, २५ गते सरसफाई, गोडमेल तथा वृक्षारोपण कार्यक्रम, २६ गते लागूपदार्थ दुव्र्यसनी बिरुद्धको कार्यक्रम, २७ गते स्टेशनरी तथा खेलकुद सामग्री वितरण कार्यक्रम, २८ गते नेतृत्व विकास तालिम र २९ गते समापन सहित एकल महिला उद्यमी सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको छ ।




