मङ्लबार, माघ २२, २०८१
Tuesday, February 4, 2025

फलेवास नगरको केन्द्र पुग्ने सडक कालोपत्रेमा प्रदेश सरकारको चासो

पर्वत : फलेवास नगरपालिकाको प्रमुख प्रशासकीय भवन जोड्ने सडक कालोपत्रे गर्न गण्डकी प्रदेश सरकारको अर्थ मन्त्रालयले बिशेष चासो व्यक्त गरेको छ ।

मंगलबार फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल लगायतको टोलीसंग बिशेष भेटघाट तथा अन्तरकृया गर्दै अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) र अर्थसचिव विष्णुप्रसाद शर्माले नगरपालिकाको केन्द्रमै पुग्ने सडकको अवस्थाबारे जानकारी लिनुहुँदै उक्त सडक चालु वर्षभित्रै कालोपत्रे गर्नेगरि कुनै स्रोतको खोजी गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नगरपालिकाको खानीगाउँस्थीत पिप्ले घुम्तीदेखि प्रमुख प्रशासकीय भवन हुँदै राहालेसम्मको करिव दुई किलोमिटर सडक कालोपत्रे नहुँदा वर्षाको समयमा हिलाम्य र हिउँदको समय धुलाम्य हुनेगरेकोले नगरबासीले अत्यन्तै कष्टकर यात्रा भोग्नुपरेको गुनासो नगरप्रमुख गंगाधर तिवारीले गर्नुभयो । ‘हामीले नगरमा पुगेर सोहि बाटो फर्किन सकिरहेका छैनौं,’ नगरप्रमुख तिवारीले मन्त्री तथा सचिवसमक्ष भन्नुभयो, ‘उक्त सडककै कारण कैयौं नगरबासी नगरपालिकामा आउनै सक्नुभएको छैन । बिहान नगरपालिका पुगेका हामी बेलुका फर्किनसक्ने अवस्था छैन ।’ नगरप्रमुख तिवारीले नगरपालिकाको केन्द्रमा पुग्ने सडकको यो दुर्दशा गण्डकी प्रदेशमै फलेवास एकमात्रै भएकोले उक्त समस्या तत्काल समाधान गरिदिन मन्त्री तथा सचिवलाई आग्रह गर्नुभयो ।

उपप्रमुख क्षेत्रीले नगरपालिकाको केन्द्र पुग्ने सडककै कारण समग्र नगरको विकासमा बाधा उत्पन्न भएको उल्लेख गर्दै जुनसुकै हालतमा नगर पुग्ने उक्त सडक कालोपत्रेका लागि आग्रह गर्नुभयो । अर्थमन्त्री बरालले मुखैमा आएको निर्वाचन र त्यसका लागि पालना गर्नुपर्ने आचारसंहिताका कारण उक्त काम अहिले नै गर्न असमर्थ भएको व्यहोरा जानकारी गराउँदै निर्वाचनलगत्तै जुनसुकै स्रोत परिचालन गरेर भए पनि आफ्नै कार्यकालमा उक्त सडक कालोपत्रे गरिछाड्ने प्रतिवद्धता जनाउनुभयो । ‘म बोल्दैबोल्दिन, बोलेपछि फरकै पर्दैन,’ मन्त्री बरालले भन्नुभयो, ‘चुनावी आचारसंहिता नलागेको भए अहिले नै यो विकल्प प्रयोग गरौं भन्न हुन्थ्यो । आचारसंहिता शुरु भइहाल्यो । अहिलेदेखि नै स्रोतको व्यवस्थापन गरेर मतदान लगत्तै नयाँ परिणाम नआउँदै उक्त सडकका लागि बजेटको व्यवस्था हुन्छ ।’

अर्थसचिव बिष्णुप्रसाद शर्माले फलेवासको सडक समस्याबारे आफु पनि जानकार रहेको र बजेटको व्यवस्था गर्न सकिने भए पनि निर्वाचनअघि समस्या भएको बताउनुभयो । निर्वाचन आयोगले नै नयाँ योजनाका लागि काम अघि नबढाउन निर्देशन दिएकोले समस्या भएको उहाँको भनाई थियो । सोहि अवसरमा नेकपा माओबादी केन्द्र फलेवासका सचिव ढाकाराम शर्माले नगरपालिकाको प्रशासकीय भवन रहेको स्थान र मन्त्री बरालको ऐतिहासिक सम्बन्ध भएको स्मरण गराउँदै भावि पुस्ताले समेत इतिहास स्मरण गरिरहनका लागि यहि कार्यकालभित्रै उक्त सडक कालोपत्रे हुनुपर्ने माग गर्नुभयो ।

अन्तरकृयामा सहभागि एकिकृत समाजबादी पर्वतका जिल्ला अध्यक्ष मोतिप्रसाद शर्माले गठबन्धन एकताको सन्देश दिन र नगरबासीको भावनाको कदर गर्न पनि उक्त सडक जुनसुकै हालतमा चालु वर्षभित्रै कालोपत्रे हुनुपर्ने बताउनुभयो । नगरप्रमुख तिवारीसहितको टोलीले अर्थमन्त्री बराल र सचिव शर्मालाई पिप्लेदेखि प्रमुख प्रशासकीय भवन हुँदै राहालेसम्मको उक्त सडकको बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गरेर बुझाएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive