पर्वत : पर्वतमा १५ वर्षको अवधिमा मतदाता नामावलीमा नाम कायम रहेकाहरूको संख्यामा साढे १५ प्रतिशतले कमी आएको छ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार २०६४ सालमा भएको संविधान सभा सदस्य निर्वाचनको बेलामा मतदाताको कुल संख्या एक लाख ४५ हजार १३४ रहेको थियो। यसको १५ वर्षपछि आगामी मंसिर चार गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एक लख २२ हजार ६४९ मतदाता कायम भएका छन्।
मतदाता नामावली संकलन गर्ने सुरुवाती अवस्थामा सबैले नाम दर्ता गरेका कारण मतदाताको संख्या धेरै देखिएको भए पनि पछिल्लो समय निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलन गरेर दोहोरो नपर्ने गरी मतदाताको नाम तयार पार्दा संख्या घटेको शर्माको भनाइ छ।
‘नाम दर्ता गर्ने भनेपछि सुरु सुरुमा जसले जहाँबाट पनि नाम दर्ता गर्नुभयो। कतिपयले जहाँ जहाँ भेटिन्छ त्यहीँ त्यहीँ नाम दर्ता गराएकाले एकै व्यक्तिको नामावली दुईतिर पनि रहेको थियो,’ उनले भने, ‘निर्वाचन आयोगले बिस्तारै वास्तविक मतदाता यकिन गर्दै नाम दोहोरो परेका, बसाई सरेर गएका, मृत्यु भएकाहरूको नाम सूचीबाट हटाउँदै लग्यो। मतदाता नामावली नै मतदानलाई निष्पक्ष बनाउने आधार रहेकाले जे हो त्यही विवरण निकाल्दा संख्या घटेको देखिएको हो।’
कार्यालयको तथ्यांक अनुसार २०७० सालमा भएको संविधान सभा सदस्य निर्वाचनको बेलामा २०६४ तुलनामा ४२.७७ प्रतिशतले मतदाता घटेको देखिएको छ। २०७० को निर्वाचनमा जिल्लामा कुल मतदाताको संख्या ८३ हजार ७४ रहेको थियो। त्यसपछि भने मतदाताहरूको संख्या बिस्तारै उकालो लाग्दै गएको छ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ९९ हजार २४३ मतदाता कायम भएकोमा सोही वर्षको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको बेलामा भने मतदाताको संख्या एक लाख सात हजार तीन सय पुगेको थियो। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको बेलामा एक लाख २२ हजार ५० मतदाता रहेकोमा अहिले त्यसमा ५९९ जना थप हुँदा हालको मतदाता संख्या एक लाख २२ हजार ६४९ पुगेको हो।
स्थानीय तहको निर्वाचनले आफ्नै टोलका व्यक्तिलाई चुनेर पठाउन पाउने भएपछि मतदातामा हौसला बढेको देखिन्छ। स्थानीय तहमा सक्रिय रहेका दल, नेता, उम्मेदवार, कार्यकर्ताहरूले आफ्नो दल वा उम्मेदवारको जीत सुनिश्चित गर्नका खोजी खोजी मतदाताहरूको नाम दर्ता गराउने क्रम बढ्यो। विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता नगराएकाहरू, वैदेशिक रोजगारीमा रहेर पनि केही समयको छुट्टीमा नेपाल आएकाहरू लगायतको नाम निर्वाचन आयोगमा प्रविष्ट गरेका कारण पनि मतदाताको संख्या बढी भएको हो।
जिल्ला निर्वाचन कार्यालयले पनि मतदानको महत्त्वसहित मतको अधिकारको बारेमा आम नागरिकमा बिस्तारै सचेतना बढाउँदै लगेकाले पनि आफै आएर नाम दर्ता गर्नेहरू बढ्दै गएको कार्यालय प्रमुख शर्मा बताउँछन्। निर्धारित समयमा निर्वाचन हुने परिपाटी बसेपछि आम नागरिकमा पनि निर्वाचनप्रतिको उत्साह बढ्ने भएकाले पनि नागरिकताको प्रमाणपत्र निकालेपछि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आउनेहरू बढेको उनको भनाइ छ।
कार्यालयको तथ्यांक अनुसार जिल्लामा कुल मतदाताको ५१ प्रतिशत अर्थात् ६१ हजार ९९८ जना महिला मतदाता रहेका छन् भने पुरुष ४९ प्रतिशत अर्थात् ६० हजार ६५१ जना रहेका छन्। प्रदेशका लागि दुई निर्वाचन क्षेत्र रहेको पर्वतको क्षेत्र नं. १ मा हालको मतदाता संख्या ६८ हजार ८८ रहेको छ। २०७४ सालमा भएको निर्वाचनमा भने ५८ हजार ८२१ मतदाता थिए। यस्तै क्षेत्र नं. २ मा २०७४ को निर्वाचनमा ४८ हजार ४७९ मतदाता रहेकोमा हाल उक्त संख्या ५४ हजार ५६१ पुगेको छ।