आइतवार, अशोज २०, २०८१
Sunday, October 6, 2024

मगर समुदायको अगुवाईमा पर्वतमा सङग्राहलय निर्माण हुँदै

पर्वत : मगर समुदायको संलग्नतामा स्थापना भएको पुन क्लबको नेतृत्वमा पर्वत सदरमुकाम कुश्मा बजारमा सङ्ग्रहालय निर्माणको काम थालिएको छ । बुधवार कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सङ्ग्रहालय रहने भवनको शिलान्यास गरेका छन् ।
सङ्ग्रहालय निर्माण गर्नका लागि पुन क्लबले दुई पटकसम्म मगर महोत्सवको आयोजना गरेको छ भने यस पटकको तिहारमा देउसी भैलो खेलेर बचेको रकमबाट भवनको निर्माण कार्य सुरु गरिएको हो । मगर जातीको कला, कौशल, प्रवर्द्धन लगायत कुरामा नेतृत्वदायी भूमिका खेल्दै आएको पुन क्लबले आफूसँग भएको बजेटबाट भवन निर्माणको काम सुरु गरेको क्लबका अध्यक्ष कृष्ण पुनले बताए । मगर जातिका र उपलब्ध भएसम्म सबै जातजातिका विशेषता बोकेका सामग्रीहरू सङ्कलन गर्ने गरी सङ्ग्रहालय निर्माण गर्ने भनिएको भए पनि आवश्यक बजेटको अभावमा हालै मात्रै सङ्ग्रहालयका लागि आवश्यक भवनको निर्माण कार्य सुरु भएको हो ।
मगर समुदायको नेतृत्वमा सङ्ग्रहालय निर्माण गर्न लागिएकाले मगर जातिका कुराहरू मात्रै त्यहाँ रहन्छन् भन्ने लाग्न सक्ने भए पनि त्यसो नहुने अध्यक्ष पुनको भनाई छ । पर्वतमा रहेका सबै जातजातिका भाषा, भेसभुसा, उनीहरूले प्रयोग गर्ने सामग्री, दैनिकी झल्किने चित्र लगायतका बस्तुहरु राख्ने गरी पुन क्लबले तयारी गरिरहेको छ ।
पुन क्लबकै आयोजनामा भएका दुई वटा महोत्सवबाट बचत भएको र गत तिहारमा देउसी भैलो खेलेको गरेर जम्मा भएको २५ लाख रुपैयाँबाट निर्माण गर्न थालिएको र काम सुरु गरेपछि बिस्तारै सहयोग आउनेमा आफूहरु आसावादी रहेको क्लबले बताएको छ ।
कुश्मा नगरपालिकाका प्रमुख जोशीले मगर समुदायको नेतृत्वमा सङ्ग्रहालय बन्ने भए पनि सबै जातजातिका पुरातात्त्विक महत्त्व बोकेका तथा विशेष प्रकारका सामग्रीहरू रहने भएकाले जिल्लामा बन्न लागेको पहिलो सङ्ग्रहालय सबैको साझा हुने उनको भनाई छ । त्यसको निर्माणका लागि तत्कालका लागि नगरपालिकाबाट कुनै आर्थिक कबुल नगरिएको भए पनि नगरपालिकाको तर्फबाट गर्न मिल्ने सहयोग गरिने पनि जोशीको भनाई छ ।
शिलन्यास कार्यक्रममा पुगेकी कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले ऐतिहासिक महत्वका बस्तुहरुको संरक्षणमा सङ्ग्रहालय महत्वपूर्ण हुने बताईन् । पुराना पुस्ताको रहनसहन र जीवन शैलीलाई पछिल्लो पुस्तामा सार्नको लागि पनि सङ्ग्रहालय महत्वपूर्ण हुने उनको भनाई छ । नगरपालिका सहित अन्य सहयोगदाता खोजेर सङ्ग्रहालय निर्माणको काममा आफूले सकेसम्मको प्रयास गर्ने उपप्रमुख रिजालको भनाई छ ।
भवन निर्माणमा नेपाल मगर संघ पर्वतका अध्यक्ष गणेश पुन, जनजाति महासंघ पर्वतका अध्यक्ष सोम पुन, हिमाल आमा समूहकी अध्यक्ष हममाया पुन, तिलिजा भाई पार्टी कुश्माका अध्यक्ष भिमबहादुर तिलिजा पुन मगर लगायतले भवन निर्माण अभियानलाई अगाडि बढाएका छन् ।
क्लबसँग भएको रकमबाट मात्रै निर्माण प्रारम्भ गरिएकाले बजेट अभाव हुन सक्ने र त्यसले यही मितिमा निर्माणको काम पूरा हुन्छ भन्ने यकिन नभएको भवन निर्माण समितिका संयोजक गुमबहादुर पुनले बताए । रकम अभाव हुन नदिन सरकारी निकायमा पहल गर्नेदेखि आफूहरूले फेरि पनि देउसी भैलो तथा मगर महोत्सवलाई निरन्तरता दिने उनको भनाई छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive