पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा ग्रामिण क्षेत्रलाई ध्यानमा राखेर ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम–२०८०’ सुरुवात गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको संयुक्त आयोजनामा कार्यक्रमको सुरुवात गरिएको हो । सामान्यतः राजमार्ग, बजार क्षेत्र तथा पक्की सडकहरुमा दुर्घटना बढी हुने भएकाले ती क्षेत्रमा केन्द्रीत रहँदै आएको ट्राफिक प्रहरीले ग्रामिण क्षेत्रको ट्राफिक व्यवस्थापनको लागि यो कार्यक्रमको सुरुवात गरेको हो ।
मङ्गलबार जलजला गाउँपालिका–७ मिलनचोकमा रहेको महिला सुधार आमा सूमहको सभा हलमा आयोजना गरीएको औपचारिक कार्यक्रमकाबीच कार्यक्रमको शुभारम्भ गरिएको छ । कार्यक्रमको सुरुवात गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले ग्रामिण क्षेत्रमा समेत बढ्दै गइरहेको सवारीहरुको चापले ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गइरहेको बताए । पर्वत ट्राफिकले सवारी नियमको कार्यान्वयनका लागि गर्दै आइरहेको प्रयास प्रशंसनीय रहेको भन्दै उनले अब ग्रामिण क्षेत्रलाई पनि प्राथमिकतामा राखेर अनुगमनको आवश्यकता रहेको औँल्याए । सहरी क्षेत्रमा चल्ने सवारीहरुले कागजपत्र तथा सवारीको अवस्थामा ठीक अवस्थामा राख्ने गरेको भए पनि ग्रामिण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नरहँदा त्यसमा लापरबाही गरिएको हुन सक्ने उनको भनाई छ ।
ट्राफिक प्रहरी प्रमुख निउरेले जिल्लामा दुर्घटना न्यूनीकरण तथा सडक सचेतना सम्बन्धि ज्ञान बृद्धिका लागि आफूहरुले बिभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरेर सूसूचित गराउने प्रयास भइरहेको बताए । सबै स्थानमा ट्राफिक प्रहरीको उपस्थिति असम्भव हुने भएकाले सडक तथा सवारीका नियमहरु मान्नु असल नागरिकको कर्तब्य भएको उनको भनाई छ । त्यसमा पनि ट्राफिक प्रहरीले चलाउने गरेका अभियान र कारबाहीहरु आमनागरिकको पक्षमा हुने भएकाले त्यसमा सघाउनु सबैको जिम्मेवारी रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक अबिनास दिप जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा जलजला गाँउपालीका–४ का वडाध्यक्ष भरत बहादुर जि.सी, सहित जनप्रतिनिधी, युवा क्लव, आमा समुह, टोल सुधार समिति, विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधी, बिभिन्न यातायात कम्पनी प्रा.लि.का प्रमुख एंव प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024