पर्वत : नेपाल स्काउट अन्तर्गत स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाको आयोजनामा माध्यमिक तहमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल स्काउटको यही असार ५ परेको स्थापना दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो ।
स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाका संयोजक तथा शिवालय माध्यमिक विद्यालय कुश्माका शिक्षक ईन्द्रप्रसाद शर्माका अनुसार कुश्मा नगरपालिकामा रहेकामध्ये १८ ओटा विद्यालयहरुबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा १८ ओटा विद्यालयहरुबीच प्रतिस्पर्धा गराएपछि उत्कृष्ट १० ओटा विद्यालयहरुलाई दोस्रो चरणमा समावेश गरिएको थियो ।
दोस्रो चरणमा भएका बिभिन्न प्रकृतिका प्रतिस्पर्धाहरुबाट सदरमुकाम कुश्मा बजारमा रहेको नमूना अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय प्रथम, कालीगण्डकी एकेडेमी र आदर्श अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय द्धितिय तथा कुश्माकै राष्ट्रिय बाल शिक्षा सदन अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय सान्त्वना स्थानमा आएका छन् । प्रतिस्पर्धा बिजेता बनेका ती विद्यालयहरुले पुरस्कार स्वरुप क्रमशः छ हजार, चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सय रुपैयाँ पाएका छन् ।

कार्यक्रममा कुश्मा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वर गिरी, स्काउट स्थानीय कार्यालयका सदस्य सचिव तथा कुश्मा नगरपालिकाको शिक्षा शाखाका प्रमुख बिष्णुप्रसाद तिवारी, शिक्षा अधिकृतद्धय दीपक सुवेदी र अर्जुन पौडेल, स्काउट स्थानीय कार्यालयका सल्लाहकार यामप्रसाद शर्मा, नेपाल शिक्षक संघ कुश्मा नगरपालिकाका अध्यक्ष मिम शर्मा लामिछाने, नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेल, शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँ, कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्तकुमार कर्माचार्य लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन स्काउट स्थानीय कार्यालयका सदस्य तथा शिवालय माध्यमिक विद्यालयका शिक्षक आनन्द पौडेलले गरेका थिए भने सहभागीहरुलाई अर्का सदस्य तथा अक्सफर्ड ल्याङ्ग्वेज एकेडेमीका सञ्चालक मिलन पौडेलले स्वागत गरेका थिए । प्रतियोगिता स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाका संयोजक तथा शिवालय माध्यमिक विद्यालय कुश्माका शिक्षक ईन्द्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।





