पर्वत : जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका विद्यार्थी र शिक्षकहरुको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाबाट छनोट गरेर जिल्ला स्तरीय प्रतिस्पर्धा हुँदै प्रदेश र केन्द्रमा पठाउने गरी बिभिन्न विद्यालयहरुबीच प्रतिस्पर्धा गराएर प्रतिभा पहिचान गरी जिल्ला स्तरीय प्रतिस्पर्धाको लागि पठाइएको नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले बताए । कार्यक्रममा बिद्यार्थी र शिक्षक दुवैका लागि नृत्य र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
सदरमुकाम कुश्मा स्थित नमूना अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगिताको नृत्यतर्फ कुश्माको नारायण माध्यमिक विद्यालय प्रथम भएको छ । यस्तै पाङको पाङ धैरेनी माध्यमिक विद्यालय द्धितिय र कुश्माको कालीगण्डकी एकेडेमी तृतिय भएका छन् । शिक्षक नृत्यतर्फ नमूना अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय प्रथम, पर्वत गुरुकुल एकेडेमी दोस्रो र कालीगण्डकी एकेडेमी तेस्रो बनेका छन् ।
विद्यार्थीतर्फको वक्तृत्वकला प्रतियोगितामा नमूना अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालयकी निशा आचार्य प्रथम, पाङ धैरेनी माध्यमिक विद्यालय पाङका समिर रिजाल द्धितिय तथा नारायण माध्यमिक विद्यालयकी सिम्रन शर्मा र काली गण्डकी एकेडेमेकी बिनिषा क्षेत्री तृतिय भएका छन् । यस्तै शिक्षकतर्फको वक्तृत्वकलामा राष्ट्रिय बाल शिक्षा सदन कुश्माका निमित्ति प्रधानाध्यापक प्रकाश आचार्य प्रथम, पर्वत गुरुकुल एकेडेमीकी शिक्षक संगीता सुनार र काफ्लचौर माध्यमिक विद्यालय दुर्लुङका प्रधानाध्यापक प्रकाश गौतम तृतिय बनेका छन् ।
प्रतियोगिताका चार वटै विधामा प्रथम, द्धितिय र तृतिय बनेका बिद्यार्थी तथा शिक्षकहरुलाई नगरपालिकाकोतर्फबाट पुरस्कार समेत वितरण गरिएको छ ।
चार वटै विधामा प्रथम भएका विद्यार्थी तथा शिक्षकहरुले शनिवार आयोजना गरिएको जिल्ला स्तरीय प्रतियोगितामा भाग लिँदै छन् । शिवालय माध्यमिक विद्यालय कुश्मामा शनिवार दिउसो कुश्मामा जस्तै गरी अन्य ६ वटा स्थानीय तहहरुबाट आएका विद्यार्थी तथा शिक्षकहरुबीच प्रतिस्पर्धा हुँदै छ । सो प्रतिस्पर्धाबाट प्रथम स्थानमा आएका प्रतियोगिहरु यसपछि गण्डकी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट हुने छन् ।
कुश्मा नगरपालिकाको आयोजनामा विद्यार्थी र शिक्षकको प्रतिभा पहिचान
