आइतवार, माघ २७, २०८१
Sunday, February 9, 2025

छाती सम्बन्धी रोगको शिविरबाट झन्डै साढे दुई सय लाभान्वित

पर्वत : पर्वत अस्पतालमा आयोजना गरिएको छातीको रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट झन्डै साढे दुई सय जना लाभान्वित भएका छन्।
पर्वत अस्पतालको आयोजनामा फोक्सोसँग सम्बन्धित श्वासप्रश्वास, दम, निमोनिया र टी.बीका बिरामीहरूलाई लक्षित गर्दै आयोजना गरिएको स्वास्थ्य शिविरबाट बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरेर दुई सय ४२ जनाले सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए।
मोफसलका सबै अस्पतालहरूमा मुटुको जाँच गर्ने पि.एफ.टी (पल्मोनोजिस्ट सहित पल्मोनरी फङसन) जाँच मसिन सहित यससँग सम्बन्धित दक्ष जनशक्ति नहुँदा नागरिकले रोग पालेर बसिरहनुपरेको अवस्था र त्यसमा पनि जाडोको समयमा श्वासप्रश्वास सम्बन्धी समस्या बढी हुन सक्ने भएकाले शिविरको आयोजना गरिएको हो।
शिविरमा मणिपाल शिक्षण अस्पताल र ओम हस्पिटल पोखरामा कार्यरत वरिष्ठ छाती रोग विशेषज्ञ डा. सी.पि. आचार्य, मणिपाल शिक्षण अस्पताल पोखरामा कार्यरत इन्टरनल मेडिसिनका चिकित्सक डा. अनमोल पौडेल, पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला सहितको स्वास्थ्यकर्मीहरूको टोलीले शिविरबाट सेवा दिएका हुन्।
मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाका अनुसार शिविरमा ६३ जनाले फोक्सोको जाँच, ४६ जनाले एक्स–रे परीक्षण, ८० जनाले इ.सी.जी सेवा सहित धेरै बिरामीहरूले ल्याब परीक्षण सेवाबाट पनि आफ्नो स्वास्थ्य अवस्थाको बारेमा थाहा पाएका छन्। स्वास्थ्य परीक्षणको लागि आएकामध्ये धेरैमा श्वासप्रश्वास, छाती दुख्ने र दम रोग सम्बन्धी समस्या देखिएको छ। शिविरमा पर्वत जिल्लाका विभिन्न ग्रामीण क्षेत्रहरूसहित पर्वतसँग सिमाना जोडिएर नजिकै रहेको बागलुङ नगरपालिकाको कैया, बलेवा, नारायणस्थान लगायतका ठाउँका नागरिकले पनि स्वास्थ्य परीक्षण गराएका छन्। परीक्षणका लागि आएकामध्ये करिब २५ जना बालबालिकाहरू रहेका पनि डा. बास्तोलाले बताए।
स्वास्थ्य परीक्षणसँगै बिरामीहरूलाई निःशुल्क रूपमा औषधि वितरण पनि गरिएको छ। फोक्सोको औषधि निःशुल्क रूपमा नै वितरण गरिएको थियो भने स्वास्थ्य बिमा गरी अन्य समस्या देखिएका बिरामीहरूलाई स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत औषधि वितरण गरिएको छ। उपचार गराएकाहरूमध्ये ८० जना बिरामीहरूको थप परीक्षण गर्नुपर्ने पाइएको छ।
एक दिने शिविर भए पनि लामो समयदेखि छाती सम्बन्धी समस्या भएका र आर्थिक अभावका कारण उपचार गर्न पोखरा काठमाडौँ लगायतका सहरमा रहेका सुविधाजनक अस्पतालमा जान नसक्ने विपन्न, असहाय तथा ज्येष्ठ नागरिकहरूले केही हदसम्म भए पनि राहत महसुस गरेका अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए।
शिविर सञ्चालनका लागि पर्वत जेसीज र इनरह्वील क्लब अफ पर्वतले पनि सहयोग गरेका थिए। शिविरको उद्घाटन गर्दै संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जटिल खालका रोगीहरूका लागि विशेषज्ञ युक्त उपचार सेवाको अभावमा जिल्लावासीहरू अझै समस्यामा रहेको बताए। यस्तै खालका शिविर समयमयमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले पर्वत अस्पताललाई थप सुविधायुक्त बनाउन प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे।
शिविरमा सहभागी वरिष्ठ छाती रोग विशेषज्ञ डा. सिपी आचार्यले अझै पनि नागरिक तहमा स्वास्थ्यसम्वन्धि चेतना अभिवृद्धि नभएको बताउँछन्। रोग लागेर जटिल अवस्था आएपछि मात्र उपचार गर्ने बानीलाई सुधार गर्दै  लक्षण देखिने बित्तिकै उपचार गराउन सकेमा भविष्यमा ठुलो जोखिम नआउने उनको सुझाव छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive