पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकी नदीमा भएको राष्ट्रिय र्याफटिङ च्याम्पियिनसिपको उपाधि प्याडल नेपालले हात पारेको छ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक कालीगण्डकी नदीमा चार दिनसम्म आयोजित च्याम्पियिनसिपमा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो। पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा सम्पन्न चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, सालोलममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले जानकारी दिए।
यस्तै प्रतियोगितामा सहभागी भोटेकोशी ‘बी’ उपविजेता बनेको छ। भोटेकोशी समूहले समग्र चार वटा इभेन्टमा ९४२ अंक प्राप्त गर्न सफल रह्यो भने बागमती प्रदेश कुल ८४२ अंकका साथ तेस्रो स्थान प्राप्त गरेको छ। प्रतियोगिताको अन्तिम दिन दुई वटा इभेन्ट सम्पन्न भएका प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले बताए। उनका अनुसार डाउन रिभर रेसमा प्याडल नेपाल ‘ए’ टिम पहिलो हुँदा भोटेकोशी ‘बी’ दोस्रो र बागमती प्रदेशले तेस्रो स्थान प्राप्त गरेको छ।
र्याफटिङ सालोलमतर्फ भोटेकोसी ‘बी’ विजेता बनेको छ भने प्याडल नेपाल ‘ए’ टिमले दोस्रो र बागमती प्रदेशले तेस्रो स्थान प्राप्त गरेको छ। डाउन रिभर र सालोलमतर्फका विजेताहरुले मेडल तथा प्रमाणपत्रका साथमा क्रमश जनही नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
कालीगण्डकी नदीलाई सहासिक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा र्याफटिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगितामा सात वटै प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको थियो।
राष्ट्रिय र्याफटिङ च्याम्पियिनसिपको उपाधि प्याडल नेपाललाई
