पर्वत : मुटुरोगको समस्याबाट ग्रसित रहँदै आएका कुश्मा नगरपालिका–१ पाङस्थित सुवेदीथरका ३८ बर्षिय दुर्गा बहादुर मल्ललाई आर्थिक सहयोग गरिएको छ ।
लामो समयदेखि मुटु रोगबाट ग्रस्त भइ शहिद गंगालाल हृदय रोग केन्द्र काठमाडौंमा उपचाररत मल्लको उपचारमा आर्थिक समस्या भएपछि पाङ यूवा क्लबको आह्वानमा सहयोग सङ्कलन गरिएको थियो । क्लबको आह्वानमा हालसम्म जम्मा भएको दुई लाख छ हजार चार सय ४० रुपैयाँ मल्लाको परिवारलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष जयराम सुवेदीले बताए ।
दैनिक औषधि सेवन गरेर उपचार भइरहेको तथा मल्लाको उपचारका लागि ठूलो धनराशी खर्च हुने अवस्था छ । उनको उपचारका लागि आवश्यक रकमको जोहो नहुँदा उनको स्वास्थ्य अवस्था नै झन झन जोखिममा पर्दै जाने देखिएपछि क्लबले उनको जीवन रक्षाको लागि सहयोग सङ्कलन अभियान सुरु गरेको थियो ।
दुर्गाबहादुरलाई आवश्यक पर्ने औषधि लिन पोखरा जानको लागि समेत आर्थिक अभाव भएकोले घरका सामान तथा वस्तुभाउ समेत वेच्नुपर्ने अवस्था आएको देखेर क्लबले सहयोगको अपिल गरेको अध्यक्ष सुवेदी बताउँछन् । सङ्कलन भएको रकम एक कार्यक्रमकावीच परिवारलाई हस्तान्तरण गरिएको छ ।
सहयोग हस्तान्तरणमा कार्यक्रममा वडाध्यक्ष खगराज पौडेल सहितका जनप्रतिनिधि, क्लबका सल्लाहकार तथा कार्यसमिति पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
मुटुजस्तो जोखिमयुक्त रोगबाट ग्रस्त भएर बाँच्नुपर्ने कहालीलाग्दो अवस्था देखेर नै क्लबले सहयोगका लागि फेरि पनि आह्वान गरिरहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।