पर्वत : जिल्लाको मोदी गाउँपालिका–५ बाजुङमा रहेको सरस्वती माध्यमिक विद्यालयको आयोजनामा पर्वतमा नै पहिलो पटक गण्डकी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।
गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा मिहिनेत गरिरहेको विद्यालयले जिल्लामा नै पहिलो पटक प्रथम ‘सरस्वती गण्डकी प्रदेश स्तरिय हाजिरिजवाफ प्रतियोगिता’ सम्पन्न गरिएको हो ।
विद्यालयका भूतपूर्व विद्यार्थीहरूको को संयोजन तथा प्रायोजनमा भएको प्रतियोगितामा पर्वत सहित कास्की र बागलुङ जिल्लाका विभिन्न १४ वट समूहले प्रतिस्पर्धा गरेका थिए । जसमा आयोजक सरस्वती माध्यमिक सरस्वती माध्यमिक विद्यालय प्रथम, बागलुङको गणेश माध्यमिक विद्यालय द्वितीय र कुश्माको नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय तृतीय भएका छन् । उनीहरूले पुरस्कार स्वरूप क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा समसामयिक, खेलकुद, भूगोल, इतिहास, धर्म संस्कृति, साहित्य, मनोरञ्जन, बौद्धिक परीक्षण र विज्ञान तथा प्रविधिको विधाबाट प्रश्नपत्रहरु सोधिएका थिए ।
विद्यालयका प्रधानाध्यापक अजय लामिछानेका अनुसार पछिल्ला केही वर्षयता सरस्वती माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलाप जोड दिँदै आएकोमा हाजिरी जवाफ प्रतियोगितामा राम्रो नतिजा निकाल्दै आएको छ । प्रदेश स्तरमा हुने हाजिरिजवाफ प्रतियोगिताहरूमा पनि कडा प्रतिस्पर्धीका रूपमा विद्यालयले गत वर्ष पोखरा विश्वविद्यालयमा आयोजित हाजिरिजवाफ प्रतियोगितामा दोस्रो स्थान बनाएको थियो । हालै मात्र ओम मूर्ति फाउन्डेसनले सञ्चालन गरेको अनलाइन क्विजमा पनि गण्डकी प्रदेशमा प्रथम स्थान हासिल गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर पौडेल अध्यक्षता तथा मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




