टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । सिरिजमा दुवै टिम सुखद सुरुवात गर्न चाहन्छन् ।
टी–२० आई खेल्नुअघि नेपालले आइतबार सम्पन्न एकदिवसीय सिरिजमा नामिबिया र नेदरल्याण्ड्ससँग खेलेको थियो । जहाँ नेपालले चारमध्ये एक खेलमा मात्र जित हात पार्यो । नेपालले एकदिवसीय सिरिजमा नामिबियासँग पहिलो खेलमा ४ तथा दोस्रो खेलमा २ विकेटको हार बेहोरेको थियो । नेपालसामु अब ओडिआई सिरिजमा बेहोरको हारको बदला टी–२० श्रृंखलामा लिने मौका छ ।
हालसम्म नेपाल र नामिबियाले टी–२० आई म्याच खेलेका छन् । त्यसले यी दुई टिम मंगलबार पहिलो भेटमै खेल जित्दै इतिहास रच्न चाहन्छ । नेपाल घरेलु मैदानको फाइदा उठाउँदै नामिबियालाई स्तब्ध पार्ने दाउमा छ । उता पाहुना टिम नामिबिया आफ्नो लय कायमै राख्दै नेपाललाई हराउने योजनामा छ । ऊ पछिल्लो समय उत्कृष्ट लयमा छ ।
नामिबियाले जारी संस्करणको विश्वकप लिग–२ को पहिलो सिरिजमा सर्वाधिक तीन खेल जित्यो । र, ऊ अहिले लिग–२ तालिकाको शीर्ष स्थानमा छ । नामिबिया अब टी–२० आई श्रृंखला पनि जित्दै नेपाल भ्रमण अन्त्य गर्ने लक्ष्यमा छ । अहिले आइसिसी टी–२० आई वरियतामा एसोसियटतर्फ नामिबिया ‘नम्बर वान’ टिम हो । समग्रमा भने ऊ वरियताको ११औँ स्थानमा छ ।
नामिबिया टेस्ट टिम जिम्बाब्वे र आयरल्याण्डभन्दा माथि छ । यता नेपाल टी–२० आई वरियताको १६औँ स्थानमा छ । नेपाललाई यो सिरिजमा आफ्नो वरियता सुधार्ने मौका पनि छ ।
नामिबिया, नेपाल, नेदरल्याण्ड्स आसन्न विश्वकपको तयारीस्वरूप टी–२० आई सिरिज खेल्न लागेका हुन् । १ जुनदेखि अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुने विश्वकपमा नेपाल र नेदरल्याण्ड् समूह ‘डी’ र नामिबिया समूह ‘बी’ मा छ ।