आइतवार, माघ ६, २०८१
Sunday, January 19, 2025

एकै रातमा लाखौँ रुपैयाँ र लाखौँका गहना चोरी गर्ने ‘’प्रोफेसनल चोर’ यसरी पक्राउ परे

पर्वत : बिहीबार राती जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित बीबीसीचोककी शर्मिला पौडेलले सञ्चालन गर्दै आएको पसल समेत रहेको घरमा ढोकामा केही आवाज आयो। ढुका फुटाउन खोजेको जस्तो फरक आवाज रातीको समयमा अचानक आएपछि घरमा सुतिरहेका परिवारका सदस्यहरूले ढोका खोलेर हेर्दा घरको ढोका  फुटाइकन चोरी भइसकेको रहेछ।
नगद १० लाख रुपैयाँ, पसलमा कारोबार भएको १७ हजार रुपैयाँ र नेपाल टेलिकम र एनसेलका रिचार्ज कार्डहरू चोरी गरेका युवकले त्यहाँबाट उम्किन निकै प्रयास गरे। तर उनको प्रयासलाई असफल पार्दै स्थानीयले  नियन्त्रणमा लिएर प्रहरीमा खबर गरे। जिल्ला प्रहरी कार्यालय पर्वतको टोली अनुसन्धानको लागि घटनास्थलमा पुग्यो।
पेसेवर रूपमा रातको समयमा लाखौँ रुपैयाँ र सुनका गरगहना चोरी गर्दै आएका ती व्यक्तिलाई जिल्ला अदालत पर्वतबाटबाट चोरी सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरेर अनुसन्धान गरेपछि उनको बारेमा विवरणहरू खुले। जिल्ल प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार पक्राउ परेका ती युवा रोल्पाको रोल्पा नगरपालिका–१ घर भएका ३३ वर्षीय भरत परियार हुन्। सुरुमा बागलुङको बागलुङ नगरपालिका–१० भकुन्डे घर भई विक्रम थापा भएको बताएको भए पनि बरामद भएको झोलामा राखेको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा उनी रोल्पाका भरत भएको पत्ता लागेको हो।
गत माघ र फागुनमा स्याङ्जाका विभिन्न स्थानमा, फागुन १६ गते पर्वतको जलजला गाउँपालिका–३ मल्लाज, १७ गते फलेवास नगरपालिका–६ खौला र चौबीस कुरीया, १८ गते कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बिबिसी चोकमा, लगायतका स्थानमा पनि परियारले नै चोरी गरेको अनुसन्धानका बुझिएको प्रहरीले बताएको छ।
परिवारले बोकेको झोलाबाट सुन जस्तै देखिने गहना ३५ तोला, ११ लाख १५ हजार भन्दा बढी नगद, ४२ वटा रिचार्ज कार्ड, दुई थान मोबाइल सेट, नेपालको नक्सा, नेपालको सडकको नक्सा, हँसिया, वायरलेस सिसिटिभी क्यामेरा, हार्डडिक्स, एलईडी मोनिटर, चोरीमा प्रयोग गरिएको ह्याम्मर, स्क्रुड्राइभर, टर्च लाइट लगायत बरामद भएका छन्।
पक्राउ परेका परियार यसअघि पनि व्यावसायिक रूपमा नै चोरीमा संलग्न रहने गरेको पाइएको छ। २०६९ सालमा प्रहरी वृत्त नयाँ बानेश्वरमा चोरी मुद्दामा चार वर्ष कैद भुक्तान गरी २०७३ सालमा छुटेको प्रहरीको तथ्याङ्कमा छ। सुरुमा केन्द्रीय कारागार काठमाडौँ  र पछि झुम्का कारागार सुनसरीमा बसेको पाइएको छ। त्यहाँ बस्दा पनि आपराधिक व्यक्तिहरूसँग सम्पर्क बढाई जेलबाट छुटेपछि पुनः गिरोहमा नै सक्रिय रहँदै आएको भेटिएको छ।
प्रहरी नायव उपरीक्षक भुसालका अनुसार परियारले प्रयोग गर्दै आएको स्मार्ट फोनमा ‘लोकल लेभल’, ‘अर्थ म्याप स्याटलाइट’, ‘एरिया क्यालकुलेटर फर ल्यान्ड’, ‘लाइभ अर्थ म्याप’ लगायतका ‘एप्लीकेसन’ हरू राखेको पाइएका छन्। ‘तीनै ‘एप्स’ हरूबाट स्थानीय तहको बारेमा जानकारी लिने, त्यहाँबाट ‘युट्युब’ मा गएर स्थानीय तहका गाउँ र भूगोलको बारेमा जानकारी लिने, प्रहरीको युनिट, बस्तीको अवस्थितिबारे थाहा पाउने, सडकको नक्साबाट बाटोको बारेमा जान्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’, डिएसपी भुसालले भने, ‘घरहरूको बारेमा सबै जानकारी लिएपछि दिउसोमा रेकी गरेर घरको अवस्थिति, झ्याल, ढोका लगायतको बारेमा जान्ने र रातीमा लगातार ८÷१० ओटै घरमा चोरी गर्ने लक्ष्य राखेर जाने गरेको पाइएको छ।’
प्रहरीको अनुसन्धानको क्रममा परियार ‘बक्सिङ’ का पूर्व राष्ट्रिय खेलाडी नै हुन भन्ने सूचना आएको भन्दै उनले पछिल्ला समयमा जिल्लामा चोरीका बारेमा आइरहेको सूचनाका आधारमा रातीको समयमा सादा पोसाकमा प्रहरी खटाएर प्रहरीले दोषीहरूलाई नियन्त्रणमा लिने प्रयास गर्दै आइरहेको उनको भनाई छ। अनुसन्धानको क्रममा परियारले आफू एक्लै चोरीमा संलग्न रहँदै आएको बताएको भए पनि उनी व्यावसायिक रूपमा नै चोरी गर्दै आइरहेकाले गिरोह समेत हुन सक्ने आधारमा अनुसन्धान भइरहेको डिएसपी भुसालले बताए।
पर्वत र आसपासका ठाउँहरूबाट चोर पीडित व्यक्तिहरू प्रहरीमा आएर उजुरी दिने काम भइरहेको र घटना सङ्ख्याको आधारमा करिब ७५ प्रतिशतले उजुरी गरिसकेको पनि पर्वत प्रहरीले बताएको छ। चोरी भएका सामग्रीहरू आफ्नो भएको पुष्टि हुने कुनै प्रमाणहरू प्राप्त भएमा अदालतको आदेश अनुसार सम्बन्धित व्यक्तिहरूलाई फिर्ता गर्ने प्रक्रिया थालिने छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive