पर्वत : नेकपा कम्युनिस्ट पार्टी (एमाले) पर्वतको १० औँ जिल्ला अधिवेशन मङ्गलवारदेखि सुरु हुँदै छ ।
नवौँ अधिवेशन भएको २७ महिनापछि विधानमा व्यवस्था भएको भन्दा नौ महिना अगाडि नै अधिवेशन गर्न लागिएको नेकपा (एमाले) पर्वतका अध्यक्ष राजु प्रसाद पौडेलले बताए । अधिवेशनको उद्घाटन पार्टी उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गर्ने तय भएको छ ।
कुश्माको होटेल वन्दनाको सभा हलमा बिहान ११ बजेदेखि सुरु हुने अधिवेशनमा उपाध्यक्ष पौडेल सहित केन्द्रीय उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, प्रदेश इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्यहरू, प्रदेश अध्यक्ष नवराज शर्मा लगायतका नेताहरूको सहभागी हुँदै छन्। मङ्गलवार उद्घाटन भएपछि बुधवार र बिहीबार बन्द सत्र चल्ने छ। बन्द सत्रले आगामी कार्यकालको लागि नयाँ जिल्ला कमिटी निर्माण गर्ने छ ।
अधिवेशनमा जिल्लाभरबाट करिब तीन सय ८५ जना प्रतिनिधि सहभागी हुँदै छन् । जसमा जिल्ला कमिटीबाट ९८ जना, लेखा कमिटीबाट सात जना, पालिका कमिटीबाट १४ जना, सल्लाहकार परिषद् सदस्य १० जना सहभागी हुने छन्। यस्तै स्थानीय तहतर्फ कुश्मा नगरपालिकाबाट ५८ जना, फलेवास नगरपालिकाबाट ४८ जना, जलजला गाउँपालिकाबाट २८ जना, महाशिला गाउँपालिकाबाट २३ जना, पैयुँ गाउँपालिकाबाट २० जना, बिहादी गाउँपालिकाबाट १९ जना र मोदी गाउँपालिकाबाट ३२ जना प्रतिनिधि सहभागी हुने छन्। पार्टीका २२ ओटा जनसङ्गठनको प्रतिनिधित्व गर्दै २२ जना र एक जना ज्येष्ठ कम्युनिस्ट मञ्चबाट प्रतिनिधि पनि अधिवेशनमा सहभागी हुने छन् ।
अधिवेशनलाई सफल पार्नको लागि विभिन्न ११ ओटा समितिहरू निर्माण गरेर कामको बाँडफाँट गरिएको छ । प्रतिनिधिहरूको आवास व्यवस्थापन भोजन, यातायात लगायतको व्यवस्थापन लगायतका काम पनि पूरा भएका छन् । अध्यक्ष पौडेलका अनुसार कार्यक्रमका लागि सबै तयारीहरू पूरा भएका छन् ।
अधिवेशन सम्पन्न गर्नका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो सबै खर्च पार्टीमा सङ्गठित भएकाहरूबाट नै सङ्कलन गरिने एमाले पर्वतका सचिव गोविन्द पहाडीले बताए । यो खर्च जुटाउन अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट जनही दुई हजार रुपैयाँ, एमाले पर्वतका पदाधिकारी तथा सदस्यहरू, एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूसहित प्रतिनिधि र प्रदेश सभा सदस्यहरूबाट पनि पद अनुसारको सहयोग लिइने उनको भनाइ छ ।
पार्टीको नवौँ अधिवेशनबाट सर्वसम्मत रूपमा एमाले पर्वतको अध्यक्ष बनेका पौडेल स्वयं नै १० औँ अधिवेशनबाट पुनः नेतृत्वमा आउन चाहेका छन् । आफ्नो पालामा नै सङ्घ र प्रदेशमा पर्वतमा एमालेका उम्मेदवारहरूले क्लिन स्वीप गरेको, जिल्लामा सक्रिय सदस्यहरूको सङ्ख्या वृद्धि गरेको, स्थानीय तहका निर्वाचनमा पनि बहुमत बनाएको लगायतका कारण फेरि पनि आफू नेतृत्वमा हुनुपर्ने उनको सोच छ ।
यस्तै उपाध्यक्ष पदमपाणी शर्मा पनि पनि अध्यक्ष पदका दाबेदार हुन् । उपाध्यक्षपछि जाने ठाउँ नै अध्यक्ष भएकाले आफू अध्यक्षका लागि तयार रहेको उनी निकट व्यक्तिहरू बताउँछन् । तर सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने भएमा आफू नै हुनुपर्छ भन्ने मुडमा उनी नरहेको एमालेकै नेताहरूको भनाई छ ।
अध्यक्ष बन्नका लागि अर्को बलियो नाम हो वर्तमान सचिव गोविन्द पहाडी । आफूले उम्मेदवारी दिने विषयमा पहाडी अहिलेसम्म मौन रहेको भए पनि उनी नजिकका केही व्यक्तिहरूले अध्यक्षमा पहाडीको बलियो उम्मेदवारी रहने बताएका छन् । एमालेका गुट उपगुटको नेतृत्व गर्दै उम्मेदवारी आउन सक्ने बारेमा सोधिएको प्रश्नमा अध्यक्ष पौडेलले पर्वत एमाले एक ढिक्का रहेको सबै नेताहरू सर्वसम्मत नेतृत्व चयनका लागि तयार रहेको बताए ।
बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025