पर्वत : पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा घनश्याम गौतमको पदस्थापन भएको छ ।
पर्वतकै मोदी गाउँपालिका–७ राम्जा घर भएका गौतम इलाका प्रशासन कार्यालय स्याङ्जाको प्रमुखको रूपमा कार्यरत थिए । लोक सेवा आयोगले केही दिन अगाडि निकालेको नतिजा अनुसार गौतम उपसचिवमा बढुवा भएपछि उनी कुश्मा नगरपालिकाको कार्यालयमा पदस्थापन भएका हुन् ।
लामो समयसम्म गृह प्रशासन सेवा गरेका गौतम पर्वतका लागि नयाँ भने होइनन् । उनले यसअघि पनि जिल्ला प्रशासन कार्यालय पर्वतमा प्रशासकीय अधिकृतको रूपमा रहेर काम गरिसकेका छन् । गौतम निजामती सेवाको नायव सुब्बाको पदबाट सेवा प्रवेश गरेका व्यक्ति हुन् ।
कुश्मा नगरपालिकाको कार्यालयमा भएको पदस्थापन कार्यक्रममा बोल्दै नगरप्रमुख रामचन्द्र जोशीले नयाँ प्रमुख प्रशासकीय अधिकृत गौतमलाई स्वागत गरे । कुश्मा नगरपालिकाले नागरिकमैत्री सेवाका लागि हरदम प्रयास गरिरहेको बताउँदै उनले अब पनि त्यसका लागि नगरपालिकाको समूह त्यसका लागि प्रतिबद्ध रहेको बताए ।
गौतमलाई नगर उपप्रमुख स्वस्थानी रिजाल र निवर्तमान प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारी सहित अन्य कर्मचारीहरूले पनि स्वागत गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले आफू सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन सधैँ प्रयासरत रहँदै आएको बताउँदै कुश्मा नगरपालिकाका कामकारबाहीलाई पनि उसै गरी अगाडि बढाउने बताए । कर्मचारीले सेवा प्रवाह गर्दा गर्ने व्यवहार नै सेवाग्राहीको सन्तुष्टिसँग जोडिने भएकोले सेवाग्राहीको समस्या र अवस्थालाई ध्यानमा राखेर सेवा प्रवाह गर्न आफू लाग्ने उनको भनाई छ ।
कुश्माको प्रमुख प्रशासकीय अधिकृतमा गौतमको पदस्थापन
