मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

२०८१ साल आजदेखि सुरु, नयाँ वर्ष धुमधामले मनाइँदै

बैशाख १, २०८१

काठमाडौं :  आज विक्रम संवत् २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउँछन्। “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने।

नयाँ वर्ष आरम्भका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ। नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ। सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ। आजको दिन नयाँ कामको थालनी गर्ने चलन पनि छ।

आज बिहानै स्नान गर्ने, मन्दिर वा आफ्नो आस्था अनुरुपको धार्मिक स्थलमा जाने, घर सफा गर्ने, मिठो-मिठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ। नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ।​

चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै शुरु हुने नयाँ संवत्सर भने चैत १२ गतेदेखि नै शुरु भइसकेको छ। चैत १२ गतेदेखि प्रमादी नामको संवत्सर शुरु भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमको भनाइ छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive