पर्वत : नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि थालेको चन्दा सङ्कलन अभियानमा पर्वतका विप्लवजंग हमालले दुई लाख ५५ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
तरुण दलको केन्द्रीय सदस्य समेत रहेका हमालले संस्थाले थालेको अभियानलाई छिट्टै सफलतामा पुर्याउनको लागि आर्थिक सहयोगको घोषणा गरेका हुन् । ‘संस्थाको आफ्नै भवन निर्माण भयो भने सङ्गठनात्मक रूपमा काम गर्न झनै सहज हुन्छ । यसमा सबैको हातेमालो भयो भने छिट्टै आवश्यक रकम पनि उठ्ने छ’, उनले भने, ‘एक वर्षभित्रमा निर्माणको काम पूरा गर्नका लागि सबैले सक्दो सहयोग गर्नुपर्छ ।’ भवनका लागि आर्थिक सहयोग गर्नेहरूमध्ये हमाल पनि धेरै सहयोग गर्नेहरुमध्येका एक हुन् ।
तरुण दलको केन्द्रीय कार्यसमितिको गत चैत १५ र १६ गते बसेको बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग सङ्कलन गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम दलका सदस्यहरू सहित नेपाल काँग्रेसमा आस्था राख्नेहरूले पनि अध्यक्ष विद्वान गुरुङलाई सहयोग रकम समेत हस्तान्तरण गरिरहेका छन् । अध्यक्ष गुरुङका अनुसार बिहीबारसम्म करिब ६५ लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।
भवन निर्माणका लागि रवि भवनमा यसअघि नै स्थानीय मैयादेवी श्रेष्ठबाट जग्गा उपलब्ध भइसकेको छ । तरुण दलले रवि भवनमा रहेको केन्द्रीय कार्यालयको पुरानो भवनलाई भत्काएर नयाँ भवन बनाउनेछ ।