पर्वत : पर्वत जिल्ला सहित यस क्षेत्रमै लोकप्रिय रहेको रेडियो शालिग्रामका समाचार प्रमुख रोशन तिवारीलाई रेडियो शालिग्रामबाट बिदाइ गरिएको छ ।
विगत आठ वर्षदेखि समाचार प्रमुखको रूपमा रहेर स्वतन्त्र र सन्तुलित समाचारको लागि रेडियो शालिग्रामलाई अग्रस्थानमा ल्याउनुभएका तिवारी केही समयका लागि वैदेशिक यात्रामा जान लागेपछि उनलाई रेडियोको सञ्चालन समिति तथा कर्मचारीहरूको तर्फबाट छुट्टा छुट्टै कार्यक्रमहरूको आयोजना गरी बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रममा बोल्दै रेडियो सञ्चालक समितिका अध्यक्ष युवराज जोशीले समाचारको माध्यमबाट रेडियोको स्तरलाई माथि उठाउन गरेको अथक मिहिनेतप्रति आभार व्यक्त गरे । आठ वर्षको अवधिमा तिवारीले गरेको सहयोगले रेडियोको श्रेणी जिल्लामा नै अब्बल भएको भन्दै उनले आगामी दिनमा पनि सहकार्य गरिने बताए । यस्तै रेडियोका उपाध्यक्ष शिव शर्मा अधिकारीले केही समयका लागि वैदेशिक यात्रामा रहने भए पनि आगामी दिन फेरि पनि सहकार्यका लागि आफूहरू तयार रहेको बताए ।
रेडियोका स्टेसन म्यानेजर गोविन्द अधिकारीले लामो समयदेखि काम गर्दा पनि विवादरहित रूपमा समाचार प्रमुख तिवारीले गर्नुभएको कामको प्रशंसा गर्नुभयो । सोही अवसरमा तिवारीको ठाउँमा रहेर समाचार प्रमुखको रूपमा कार्यभार सम्हाल्नका लागि संजय रेग्मीलाई जिम्मेवारी प्रदान गरिएको छ । रेडियो शालिग्राम स्थापनाको बेलामा नै समाचार प्रमुखको रूपमा काम गरेका रेग्मीले अब पुन समाचारको शाखाको काम सम्हाल्ने छन् ।
यसैबिच, निवर्तमान समाचार प्रमुख तिवारीलाई आज आयोजना गरिएको एक कार्यक्रमकाबीच रेडियोमा कार्यरत कर्मचरीहरुले सुखद यात्राको कामना गरेका छन् । सो अवसरमा बोल्दै तिवारीले आफू वैदेशिक यात्रामा रहे पनि रेडियोप्रतिको आफ्ना कर्म भने नछाड्ने बताएका छन् ।