शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

विकास प्रस्ताव हेरेर विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्दै जलजला गाउँपालिका

बैशाख २६, २०८१

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक नियुक्तिको नयाँ शैली थालेको छ।
सामान्यतः नेपाल सरकारले नमुना विद्यालयको रूपमा अगाडि बढाइरहेका विद्यालयहरूमा प्रधानाध्यापक नियुक्त गर्दा पाँच बर्षे विद्यालय विकास प्रस्ताव माग्ने गरिन्छ।

प्रधानाध्यापक बन्न मन लागेका शिक्षकहरूबाट विद्यालयको विकासका लागि पञ्चवर्षीय योजना माग गरिन्छ। प्राप्त भएका प्रस्तावहरूमध्ये उत्कृष्ट एक छनोट गरेर विद्यालय व्यवस्थापन समितिले पाँच वर्षका लागि प्रधानाध्यापक नियुक्त गर्ने गरेको छ।

जलजला गाउँपालिकाले भने प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा यही शैलीमा प्रधानाध्यापक नियुक्त गर्न लागेको हो। विद्यालयको सुधार र शैक्षिक गुणस्तर कायम गर्नको लागि शिक्षा ऐनमा रहेको व्यवस्था अनुसार मात्रै प्रधानाध्यापक नियुक्त गर्दा विद्यालयमा फरक सोच र फरक शैली नआएको भन्दै गाउँपालिकाले यो योजना अगाडि बढाएको हो

गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार गाउँपालिकाले शैक्षिक सुधारलाई नै पहिलो कामका रूपमा हेरेर शिक्षा क्षेत्रमा विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको छ। सोही अन्तर्गत रहेर नयाँ प्रयोगको रूपमा प्रतिस्पर्धाको आधारमा प्रधानाध्यापक छनोट गर्न लागिएको हो।

‘प्रअ भइदिनको लागि भइदिएको जस्तो भएर हुँदैन। केही गर्नका लागि बनेको प्रअ हुनुपर्छ। शिक्षा ऐनमा रहेको व्यवस्था अनुसार परम्परागत रूपमा प्रअ बन्दा कुनै प्रतिस्पर्धा, जोस देखिएन’, अध्यक्ष आचार्यले भने, ‘नयाँ कुरा लागू गर्नु चुनौतीपूर्ण हुन त सक्ला तर यो नगरेसम्म परिवर्तन कसरी होला? काम गर्न सक्ने मान्छेले गर्ने हो, कुनै हालत सकिँदैन भने अब अरूका लागि बाटो खुल्ला गर्दा पनि हुन्छ। तर राष्ट्रको लगानी र विद्यार्थीको भविष्यमाथि खेलबाड हुनु हुँदैन।’

गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेका अनुसार विद्यालयको प्रधानाध्यापक बन्न इच्छा भएका शिक्षकहरूले आफूले आगामी पाँच वर्षमा विद्यालयमा ल्याउन सक्ने परिवर्तन, कार्यान्वयन गर्न सक्ने कार्यक्रम लगायतका स्पष्ट खाका सहितको प्रस्ताव तयार गर्नुपर्छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा दर्ता हुने ती प्रस्ताव उपर जनप्रतिनिधि, कर्मचारी र विज्ञहरूले संयुक्त रूपमा अध्ययन गरेपछि उत्कृष्ट प्रस्ताव छनोट हुने छ। जुन शिक्षकको प्रस्ताव छनोटमा पर्छ उही शिक्षकलाई विद्यालयको आगामी पाँच वर्षको प्रधानाध्यापकको रूपमा नियुक्त गर्ने निर्णय गाउँपालिकाले गरेको छ।

यही वैशाख २७ गतेभित्रमा शिक्षकहरूको प्रस्ताव लिएपछि लगत्तै छनोटको काम सकेर चालु नयाँ शैक्षिक सत्रलाई सुरुवातदेखि नै नयाँ जोसका साथ अगाडि बढाउने गरी आन्तरिक तयारी चलिरहेको पनि शिक्षा अधिकृत लामिछानेले बताए। उनका अनुसार शिक्षकले आफ्नो नियुक्ति पत्रको प्रतिलिपि, विद्यालयको सेवा प्रमाणित, शैक्षिक योग्यता प्रमाणपत्रका प्रतिलिपि, नेतृत्व विकास सम्बन्धी तालिम लिएको भएमा सो प्रमाणपत्रको प्रतिलिपि र हस्तलेखन निवेदन सहित पाँच वर्षे विद्यालय विकास प्रस्ताव पेस गर्नुपर्ने छ।

प्रधानाध्यापक बन्नको लागि आवश्यक न्यूनतम् योग्यता अन्तर्गत माध्यमिक तहका लागि स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको, निम्न माध्यमिक तहको लागि स्नातक वा सो सरह उत्तीर्ण गरेको, प्राथमिक तहको लागि प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र यी सबैका लागि कम्तीमा पनि तीन वर्ष सम्बन्धित तहमा शिक्षण गरेको अनुभव भएको हुनुपर्ने सर्त गाउँपालिकाले राखेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive