शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024

सामाजिक विकास कार्यालयको पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

पर्वत : सामाजिक विकास कार्यालय पर्वतले चालु आर्थिक वर्षको हालसम्म भएको कार्यालयको प्रगतिको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकीको आयोजना तथा सु–शासनको लागि नागरिक समाज (सुनास) को सहजीकरणमा भएको कार्यक्रममा कार्यालय प्रमुख टंक प्रसाद ढकाले कार्यालयले शिक्षा, युवा तथा खेलकुद, संस्कृति संरक्षण, भाषा एवं पुरातत्त्व, श्रम तथा रोजगार, सामाजिक क्षेत्र लगायतका क्षेत्रका काम गर्दै आइरहेको बताए ।
प्रदेश सरकारबाट चालुतर्फ प्राप्त भएको वार्षिक बजेट एक करोड ४० लाख रुपैयाँमध्ये ६० प्रतिशत अर्थात् ८४ लाख २५ हजार रुपैयाँ तथा सङ्घ सरकारबाट सशर्तमा आएको नौ लाख रुपैयाँमध्ये ९५ प्रतिशत रकम खर्च हुँदा यसको भौतिक प्रगति सत प्रतिशत पुगेको छ ।  पुँजीगततर्फ प्रदेश सरकारबाट पाँच करोड ६९ लाख ८३ हजार रुपैयाँमध्येको ८४ प्रतिशत रकम खर्च हुँदा यसको भौतिक प्रगति ९० प्रतिशत रहेको छ । प्रदेश र सङ्घ सरकारबाट आएको कुल आठ करोड २५ लाख ७५ हजार रुपैयाँमध्ये छ करोड ६२ लाख ६४ हजार रुपैयाँ अथार्त ८० प्रतिशतभन्दा बढी रकम खर्च भएको छ ।
कार्यालय प्रमुख ढकालले कार्यालयमा विषयगत रूपमा आएका विभिन्न ८७ वटा योजनाहरूको निर्माण, मर्मत र सम्भार गरिएको, सिबिआर कार्यक्रममार्फत १६ जना लाभग्राहीहरूलाई सम्बन्धित संस्थामार्फत बीउ पुँजी वितरण गरिएको, अपाङ्गता परिचयपत्रको वर्गीकरणको बारेमा अभिमुखीकरण गरिएको कार्यक्रममा जानकारी गराइएको छ ।  एक महिलाको नेतृत्व विकासका लागि कार्यक्रम गरिएको, जिल्लाका चार वटा स्थानीय तहमा शिक्षक समूह गठन तथा परिचालन गरिएको, सामाजिक कुरीतिका विरुद्धमा कार्यक्रमहरू सञ्चालन गरिएको, अन्तर पुस्ता ज्ञान तथा सीप हस्तान्तरण कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको पनि कार्यालय प्रमुख ढकालले बताए ।
कार्यालय प्रमुख ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका पर्वतका उपप्रमुख सोम बहादुर जि.सी, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य, सशस्त्र प्रहरी बलको २५ नम्बर गण चण्डिका पर्वतका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, फलेवास नगरपालिकाकी प्रमुख शोभा कुमारी क्षेत्री, सुनासका अध्यक्ष सिरोज विजय कोइराला लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन सुनासका कार्यकारी अधिकृत भानु पराजुलीले गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive