बुध, माघ २८, २०८२
Wed, February 11, 2026

कुश्माका शिक्षकहरुलाई इमिसबारे एक दिने अभिमुखीकरण

जेष्ठ १६, २०८१

पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्र रहेका माध्यमिक तहका विद्यालयहरूको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

देशभरका विद्यायहरुलाई एउटै प्रकारको वेब बेसमा रहेको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीको बारेमा अभिमुखीकरण गर्नका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । तहगत रूपमा आयोजना हुँदै जाने अभिमुखीकरणको लागि पहिलो चरणमा नगरपालिकाभित्र रहेका २५ वटा माध्यमिक तहका विद्यालयका इमिस प्रणालीमा काम गर्दै आएका शिक्षक तथा कर्मचारीहरूलाई समावेश गरेर कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत दीपक सुवेदीले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा विद्यालयले भर्नुपर्ने प्रोफाइल तथा विद्यालयका विवरणहरू अद्यावधिक, विद्यार्थीहरूको तथ्याङ्क व्यवस्थापन, परीक्षा व्यवस्थापन तथा सञ्चालन, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको अद्यावधिक विवरण, लगायतका विषयमा सहभागीहरुकाबीच आपसी छलफल र अनुभव आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले मोबाइलको प्रयोगलाई सामाजिक सञ्जालको प्रयोगको रमाइलोको रूपमा मात्रै भन्दा पनि केही नयाँ ज्ञान र सीपको विकास गर्ने गरी आफूलाई विकास गर्ने बताउनुभयो । कुश्मा नगरपालिकामा विगतका वर्षहरूको तुलनामा शिक्षामा आउने बजेट क्रमिक रूपमा घट्दै गइरहेको बताउँदै उहाँले यस पटक सङ्घीय बजेट समेत घटेर आएमा झनै समस्या हुन सक्ने बताउनुभयो । तर पनि नगरपालिकाले शैक्षिक गुणस्तर कायम गर्नको लागि आवश्यक प्रयास र पहल जारी राख्ने उहाँको भनाई छ । शिक्षक तथा कर्मचारीहरूले अभिमुखीकरणमा सिकेका कुराहरूलाई सिकाइमा मात्रै सीमित नराखेर आफूलाई समयानुसार अद्यावधिक गर्न प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले सुझाव दिनुभयो ।

यस्तै शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले शिक्षा क्षेत्रलाई सङ्घीय सरकारबाटै बेवास्ता गरिँदा शैक्षिक समस्याहरू आइरहेको बताउनुभयो । कुश्मा नगरपालिकाले गरेका कामहरू अन्य पालिकाहरूले अनुसरण गर्ने समेत पछ्याउने भएकाले कुश्मा नगरपालिकाका शिक्षकहरू अरूका लागि उदाहरण भएर नियम अनुसार चल्नुपर्ने उहाँको भनाइ छ । शिक्षकहरूको सरुवाका विषयमा बोल्दै उहाँले विषय नै परिवर्तन गरेर आफू अनुकूलको शिक्षक ल्याउने र पठाउने काममा कोही पनि लाग्न नहुने शाखा प्रमुख तिवारीले बताउनुभयो । कार्यक्रममा बोल्दै सामाजिक विकास समिति संयोजक तथा कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले पछिल्लो समय विज्ञान र प्रविधिले निकै फड्को मार्दै गइरहेको बेलामा शिक्षकहरू पनि सोही अनुसार अद्यावधिक हुनुपर्ने बताउनुभयो ।

प्रविधिका माध्यमबाट शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्दा विद्यार्थीहरू पनि सक्रिय हुँदा सिकाइमा गुणस्तर आउने उहाँको भनाइ छ । कार्यक्रमको उद्देश्यमाथि प्रकाश तथा सहभागीहरूलाई स्वागत गर्दै शिक्षा अधिकृत अर्जुन पौडेलले इमिश व्यवस्थापन प्रणाली दक्षिण एसियामा नै उत्कृष्ट रहेकोले यसको प्रयोग नेपालका विद्यालयहरूको लागि अनिवार्य रहेको बताउनुभयो । यो प्रणालीमा हरेक दिन नयाँ कुराहरू अद्यावधिक भइरहेकोले यसमा शिक्षकहरू पनि अद्यावधिक हुनुपर्ने उहाँको भनाइ छ । यस्तै शिक्षा अधिकृत दीपक सुवेदीले इमिसमा अद्यावधिक हुन नसकेका विद्यालयहरू यो प्रणालीबाट नै बाहिरिने र राज्यको सुविधाबाट वञ्चित हुने भएकाले सबै विद्यालयहरूले आफ्नो काम तोकिएकै समयमा पूरा गर्न अनुरोध गर्नुभयो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive