पर्वत : पर्वत जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरूको भेलाबाट जिल्लामा नै पहिलो पटक ‘प्रिन्सिपल एसोसिएसन अफ पर्वत’ को गठन गरिएको छ ।
शनिवार पर्वत सदरमुकाम कुश्मा बजार स्थित नारायण माध्यमिक विद्यालयमा आयोजना भएको भेलामा विष्णुप्रसाद शर्मा संयोजक तथा टेकनाथ अधिकारी र रघुनाथ आचार्य सदस्य रहेको निर्वाचन समितिबाट भवानी विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मीको अध्यक्षतामा सर्वसम्मत रूपमा कार्यसमिति निर्माण भएको हो । जसको उपाध्यक्षमा शिव माध्यमिक विद्यालय जलजलाका अमृत प्रसाद शर्मा सापकोटा, सचिवमा शिवालय माध्यमिक विद्यालय कुश्माका भूपेन्द्र चापागाईँ, सहसचिवमा स्वधर्म माध्यमिक विद्यालय महाशिलाका शेषकान्त शर्मा तथा कोषाध्यक्षमा नवजागृत माध्यमिक विद्यालय तिलाहारका विष्णुप्रसाद सुवेदी निर्वाचित हुनुभएको छ ।
यसै गरी सदस्यहरूमा इन्द्र प्रसाद सापकोटा, कृष्णमाया नेपाली, जीतबहादुर थापा, ओमकार पौडेल, नारायण रेग्मी, चन्द्रा गुरुङ, प्रकाश सापकोटा, नारायणप्रसाद अर्याल, सुरेन्द्र शर्मा गौतम, अशोक के.सी, ऋषिराम शर्मा, टङ्क बहादुर खड्का कमला पौडेल, खड्क बहादुर क्षेत्री, घनश्याम पोख्रेल र मालती फगामी पुन चयन हुनुभएको छ ।
समितिका सचिव तथा शिवालय माध्यमिक विद्यालय कुश्माका प्रधानाध्यापक भूपेन्द्र चापागाईँले जिल्लाभरका प्रधानाध्यापकहरूलाई एकीकृत गरेर साझा समस्याको साझा समाधानको लागि समिति निर्माण भएको बताउनुभयो । जिल्लाका विभिन्न विद्यालयहरूले गरिरहेका असल अभ्यासहरू अन्य विद्यालयमा पनि सिको गर्नका लागि प्रधानाध्यापकहरूको समितिमार्फत सजिलो हुने बताउनुभयो । प्रधानाध्यापकहरूलाई एकीकृत गर्न, असल अभ्यासहरू साटासाट गर्न, विद्यालयहरुबीच सहकार्यको विकास गर्न, विद्यालयहरुबीचको समन्वय निर्माण गर्न, प्रधानाध्यापकहरुबीच अनुभव आदानप्रदान गर्न लगायतका गतिविधि सञ्चालन गर्नको लागि यसमार्फत फाइदा पुग्ने उहाँको भनाइ छ ।
बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024