पर्वत : नेपाल प्रेस युनियन पर्वतको ३३ औँ स्थापना दिवसको अवसरमा प्रेस युनियन पर्वत शाखाले पत्रकारहरूको स्वास्थ्य परीक्षण सहित विचार गोष्ठीको आयोजना गरेको छ ।
युनियन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीका अनुसार स्थापना दिवसको पूर्व सन्ध्यामा शनिवार बसेको शाखाको बैठकले पर्वत अस्पतालसँगको सहकार्यमा पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गर्ने भएको छ । अस्पतालले प्राविधिक सहयोग गर्ने भएपछि बिहान आठ बजे प्रेस युनियन पर्वतको कार्यालयमा नै चिकित्सकहरूले बोलाएर पत्रकार तथा सञ्चार माध्यमहरूका सञ्चालक, जनप्रतिनिधि सहित चासोका साथ उपस्थित हुने सर्वसाधारणहरूको पनि स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको अध्यक्ष अधिकारीले बताए ।
स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएपछि युनियनको कार्यालयमा नै ‘वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागी सरोकारवालाको भूमिका’ विषयक बिचार गोष्ठीको आयोजना गरिएको छ । प्रेस युनियनमा आबद्ध पत्रकारहरू सहित नेपाल पत्रकार महासङ्घ पर्वत शाखा तथा जिल्लामा सक्रिय रहेका पत्रकारहरूका विभिन्न पेसागत सङ्घ तथा सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूको पनि अन्तरक्रियामा सहभागिता रहने छ । अन्तरक्रियामा वडा तथा नगरपालिकाका प्रतिनिधिहरू, सञ्चार गृहका सञ्चालकहरू लगायतको पनि उपस्थिति रहने छ ।
नेपाल प्रेस युनियन सक्रिय तथा प्रजातान्त्रिक विचारमा मान्यता राख्ने पत्रकारहरूको छाता सङ्गठन हो । वि.सं. २०४८ युनियनले श्रमजीवी पत्रकारको अधिकारको संरक्षण, कल्याण, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, ट्रेड युनियन अधिकार, लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरण, मानवअधिकारको संरक्षणका साथै कानुनी प्रतिनिधित्व र पत्रकारको व्यावसायिक सुरक्षाको वकालत गर्ने उद्देश्य बोकेको छ । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट पहिलो सदस्य सङ्गठनको रूपमा रहेको युनियनले लोकतान्त्रिक पत्रकारहरूको ज्ञान, अधिकार र हितको लागि सङ्गठित र निरन्तर वकालत गर्दै आइरहेको छ ।
यसबाहेक, नेपाल प्रेस युनियन नैतिक पत्रकारिता अभ्यासहरू कायम राख्न र प्रवर्द्धन गर्न प्रतिबद्ध रहँदै आएको छ । यसले जिम्मेवार र सन्तुलित प्रतिवेदन, सही सूचना प्रसार, र व्यावसायिक मापदण्डहरूको पालनाको महत्वलाई जोड दिँदै आएको छ ।